विराटनगर । दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राती उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा उपचाररकोक्रम्म निधन भएको हो ।
२०६२चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए । ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन् । १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए । निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए । उनको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए ।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

