देश भ्रष्टाचारले आक्रान्त छ । जनता रोग, भोक, गरिबी र बेरोजगारीले आक्रान्त छन् । उद्योग व्यवसायीका लागि लगानीको वातावरण छैन । सरकारी सेवा चुस्त दुरुस्त छैन । आम मानिस सन्तुष्ट छैनन् । सम्पत्ती हुनेहरू धमाधम विदेशतिर लागिरहेका छन् । सम्पत्ती नहुने भोका, नाङ्गा र कमजोरहरू राज्यमा बस्नेहरुले गरेको भ्रष्टाचारको ताण्डब हेरेर बसिरहेका छन् । अहिले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका जाने र लानका लागि किर्ते गर्नेहरुदेखि साक्षी किनारा बस्नेहरुको पर्दाफास भइरहेको छ । हिंजो युद्धमा बम, गोला र बारुदसँग खेलेका कमाण्डरहरु मानव तस्कर बनेका छन् । हिंजो देश बनाउने, संसारलाई चिनाउने, मरे सहिद बन्ने जिते संसार जित्ने आदर्श लिएर हिंडेकाहरु विचौलिया र तस्कर बनेका छन् । जसले गर्दा हाम्रो देश संसारमा दलाली, तस्कर र भ्रष्टाचारले आक्रान्त देशको रुपमा चिनिदै गएको छ ।
नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणले हाम्रो देशको राज्य संयन्त्रको उपल्लो तहमा बस्नेहरुबाटै भएको गम्भीर राष्ट्रघात र अपराधिक मानसिकताको पर्दाफास पनि भएको छ । जब प्रचण्ड नेतृत्वको सरकार बन्यो यो विषयको अनुसन्धानले प्रवेश पायो । छानविन भयो, उच्च पदस्थ मानिसहरु पक्राउ परे । कतिपयलाई पक्राउ पूर्जी काटिएको छ । यो नरोकियोस् । प्रचण्ड नरोकिउन् । देशका ठूला राजनीतिक पार्टीहरु निर्मम बनून र मान्छेको तस्करी गर्न दानवरुपी तस्करहरुलाई जेलमा पठाइयोस् ।
नेपालमा पछिल्लो पटक पर्दाफास भएको यो भ्रष्टाचारको विषय थप भएको हो । यस्तै ठूलाठूला तस्करी र भ्रष्टाचारको विषय यसअघि पनि सार्वजनिक भएका छन् । कतिपय कारबाहीको भागीदार पनि बनेका छन् कतिपय अझै खुलेआम हिंडिरहेका छन् ।
नेपालको इतिहासमा खुमबहादुर खड्का, चिरञ्जीवि वाग्ले, जयप्रकाशप्रसाद गुप्ता जस्ता उच्च ओहोदाका राजनीतिक नेताहरु पनि पक्राउ परेका हुन् । जेल बसेका हुन् । तर, उनीहरुभन्दा धेरै मानिसहरुले उन्मुक्ति पाइरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरु पनि उन्मुक्ति नपाउन् । नेताहरुको दौडधूप, प्रतिक्रिया, अनुसन्धानको अवस्था र संसदमा देखिएको दोहोरी हेर्दा कतै दोषिलाई उम्काउने खेल त भइरहेको छैन भन्ने गम्भीर आशङ्का उब्जिएका छन् । आम जनता भ्रष्टाचारको जालो जरैदेखि उखेलिएको हेर्न चाहन्छन् । तर, हाम्रा राजनीतिक पार्टीका नेताहरु र सरकारकै उपल्लो तहका मानिसहरुले यो विषयलाई लुकाउने र अन्तै मोड्ने प्रयास त गर्दैछैनन् भन्ने आशङ्का गरिरहेका छन् । शरणार्थी प्रकरण सोझै अमेरिकासँग र विश्वसँग जोडिएको छ । मान्छेको तस्करी गर्न पनि राज्य संयन्त्रै लाग्ने देखिएपछि अन्तराष्ट्रिय समुदायमा नेपालको छवि गिर्दो छ । त्यसलाई उकास्नका लागि पनि राज्य निर्मम बन्नुपर्छ । जनताको अपेक्षा पनि यही हो र देशको भलो पनि यसरी नै हुने हो ।
यति मात्रै होइन नेपालमा विगत केही वर्षमा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भएका छन् । कोभिडको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा भएको भनिएको ५४ करोड घोटला काण्ड होस् वा अवैध रूपमा चुन उत्खनन गर्ने नौ उद्योगलाई साभा अर्ब जरिमाना गर्नुको साटो उन्मुक्ति दिने कुरा हुन् । यि सबै भ्रष्टाचारका नमूना हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ, गुणस्तरहिन मल खरिद प्रकरणमा भएको १ अर्ब ५५ लाख भ्रष्टाचार, वाइडबडी जहाज खरिदमा भएको चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटाला, रेल विभागले जग्गाको मुआब्जा फाइनल गर्नु अगाडि नै ठेक्कामा लगाएर भुक्तानी गरेको ३३ अर्ब ३४ करोड होस् यि राज्यकोष दुरुपयोगको निकृष्ठ नमूना हुन् ।
स्वयम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गिरिबन्धु टि स्टेटको जग्गा बिक्रीमा अरबौं कमिसनको कुरा होस् या पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट दिएर गरेका राष्ट्रघातका कुरा हुन् यि सबै अनुसन्धानयोग्य प्रतिनिधिमूलक विषय हुन् । यि सबै विषयका छानविन र अनुसन्धान गरेर दोषिलाई कडाभन्दा कडा सजाय नदिएसम्म वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्दै आएको सुशासन, समृद्धि र विकास असम्भव छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।