विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ बाहिर राहदानी बनाउन आउने सेवाग्राहीसँग अनलाइन फर्म भरिदिएवापत मन लाग्दी रकम असुल्ने गरेको पाइएको छ ।
राहदानीको लागि अनलाइन फर्म भरिदिए वापत सेवा शुल्क भनेर स्थानीय प्रशासनले २ सय रुपैयाँ तोकिदिएको छ । तर, प्रशासन बाहिर बग्रेल्ली खुलेका अनलाइन फर्म पसलले मनलाग्दी रुपमा सेवाग्राहीसँग रकम असुली गर्ने गरेको पाइएको हो ।
उनीहरूले अनलाइन फर्म भरिदिएपावत एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म सेवाग्राहीबाट लिने गरेका छन् । प्रशासन बाहिर सेवाग्राही ठगीमा पर्दा पनि प्रशासन कार्यालय भने मौन छ ।
जिप्रका मोरङमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार एमआरपी बनाउनको लागि टोकन खुल्ने गरेको छ । मंगबलार १ सय २० र शुक्रबार १ सय १० जनाको लागि अनलाइन खुल्ने गरेको जिल्ला प्रशासन कार्यालय मोरङका पासर्पोट शाखाका शाखा अधिकृत रवि तिम्सिनाले बताए । १ बजेपछि खुल्ने अनलाइन प्रशासन बाहिर बसेकाले कब्जा गर्छन् । प्रशासनले अनलाइन खुलाएको एक घण्टामा कोटा फूल हुन्छ र उनीहरुले होल्डमा राख्छन् । ‘जुन दिन प्रशासनले अनलाइन खुलाउँछ । प्रशासन बाहिर बसेकाहरुले एक घण्टा भित्रमा उनीहरुले बढी पैसा लिएका व्यक्तिहरुको फर्म गरिदिने गरेका छन् । कम पैसा दिनेको ढिलो गरी लाइनमा हालिदिने गरेका छन् । ढिलो हुने भएकोले गर्दा पनि सेवाग्राहीले दलालले भने अनुसारको मनलाग्दी रकम लिन बाध्य छन्,’ सेवा लिन आएका मोरङ कानेपोखरी २ का प्रविण राईले भने ।
३२ वर्षीया प्रविण स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगामा जाने निधो गरेका छन् । ‘वैदेशिक रोजगारमा जानको लागि पहिला रहदानी बनाउनुपर्छ । राहदानी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा दुई हप्ता अगाडि गएको थिए,’ उनले भने, ‘राहदानी बनाउन सबैभन्दा पहिला फर्म भरेपछि प्रक्रिया अगाडि बढ्छ । त्यसको लागि उनी जिप्रका बाहिर रहेको अनलाइन फर्म भर्ने पसलमा गएँ । त्यहाँ गएर राहदानी बनाउन अनलाइन फर्म भर्ने जानकारी गराए । इमरजेन्सी अहिले फर्म भर्ने मिति लिएर टोकन लिएँ दुई हजार । पछि ३÷४ महिना पछि आए पाँच सय रुपैयाँ लाग्ने सुनाए । वैदेशिक रोजगारमा चाँडै गए पैसा कमाउने अभिलासले फास्ट ट्र्याकको बाटो रोजेँ र दुई हजार रुपैयाँ दलाललाई दिएपछि राहदानीको लागि अनलाइन फर्म भरेँ ।’ अहिले उनी राहदानीकोे प्रतिक्षामा छन् ।
यसैगरी विराटनगरका–५ का रमेश राईले पनि राहदानीको अनलाइन फर्म भरेको दलाललाई एक हजार रुपैयाँ दिएर मात्र बनाउन पाएको बताए । ‘प्रशासन बाहिर खुलेको अनलाइन फर्म भर्ने पसलको साहार नलिकन हामीले फर्म भर्न नसिकने रहेछ । हप्ताको दुई दिन प्रशासनले अनलाइन फर्म खोल्दो रहेछ । अनलाइन फर्म खुलेको दिन हामीले प्रशासन कार्यालयमा सोझै गयौं भने कर्मचारीले बाहिर अनलाइन फर्म भर्ने ठाउँमा पठाइदिन्छन्,’ उनले भने, ‘अनलाइन फर्म भर्ने ठाउँमा मनलाग्दी पैसा लिने गर्दछ । उनीहरुले भने अनुसार पैसा नदिए पासपार्टको लागि अनलाइन फर्म भर्ने पालै पाउन गाह्रो हुन्छ ।’ बाध्य भएर सेवाग्राहीले दलालले भने अनुसारको रकम बुझाउन बाध्य हुन्छन् ।
बढी रकम लिनेलाई कारवाही गर्छौ: प्रजिअ यादव
यता मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले सेवा शुल्कको नाममा बढी पैसा असुल्लेलाई कारवाहीको दायरामा ल्याउने बताए । ‘प्रशासनले तोकेको भन्दा बढी रकम कसैले पनि लिन पाउँदैन,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘यति बढी रकम लिएको पाइए कारवाहीको दायारमा ल्याउनेछौं ।’ प्रशासनको नाम जोडर पनि लेखापढी गर्नेहरुबाट सेवा शुल्कको नाममा बढी पैसा लिएको सूचना दिए तत्काल कारवाही गर्ने उनले बताए । ‘जिल्ला प्रशासन कार्यालय बाहिर लेखापढी गर्ने व्यक्तिले यस कार्यालयलाई जोडेर बढी सेवा शुल्क रकम लिन सक्छन् । त्यस्तो रकम नदिनुहोस् । कोही कसैले लिए दिएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कानुन बमोजिम कारवाही हनुछ,’ उनले भने, ‘कार्यालय परिसरभित्र र बाहिर सिसि क्यामरा मार्फत गतिविधि निगरानी गरिएको हुँदा कोही कसेले कुनैपनि किसिमको गैरकानुनी क्रियालकलाप गर्नुहुँदैन । यदि गरेको पाइए कारवाहीको भागिदार हुनुपर्दछ ।’
बढी शुल्क लिने आधा दर्जन बढी दलाल कारवाहीमा
राहदानी बनाउन आउने सेवागीग्राहीसँग बढी रकम लिने आधा दर्जन बढी दलाललाई प्रशासनले कारवाही गरेको छ । राहदानी बनाउन आउने सेवाग्राहीसँग मनलाग्दी रकम लिएको पाइएपछि आधा दर्जन बढीलाई कारवाही गरिसकेको मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए । ‘बढी रकम लिँदै रहादानीको फर्म भरिदिने गरेको पाइएपछि कारवाहीको दायारमा ल्याएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी साहले भने, ‘पछिल्लो दुई महिनामा ८ जनालाई कारवाही गरिसकेका छौं ।’ अहिले पनि बढी रकम असुल्दै सेवाग्राहीसँग रकम लिएको पाइए कारवाहीको दायारमा ल्याउने उनले बताए । ‘बढी रकम लिएको भनेर हामीलाई जानकारी दिनुहोस । हामी तत्काल सुरक्षाकर्मी परिचालन गरेर कारवाहीको दायारमा ल्याउनेछौं,’ उनले भने ।
यसरी सेवाग्राहीसँग बढी रकम असुल्ने गिरोहलाई ठगी र अभद्र व्यवहारको मुद्दामा कारवाहीको दायारमा ल्याउने गरेको उनले सुनाए । ‘यसरी बढी रकम लिनेलाई कारवाही गरि धेरै जसो धरौटी रकम बुझाएर छुटेका छन्,’ उनले भने, ‘सेवाग्राहीले बढी रकम लिएको गुनासो गरेपछि हामीले पक्राउ गरि धरौटीमा छोडेका छौं ।’ अहिले पनि पुनः त्यस्तो क्रियाकलापमा संलग्न भएको पाइए कारवाहीको दायरामा ल्याउने उनले बताए ।

