विराटनगर । ९ तोला सुनसहित विराटनगरबाट दुई जनालाई पक्रउ परेका छन । मोरङ प्रहरीले सुनका गहनासहित सोमबार राति इटहरी उपमहानगरपालिका–१०का दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेका उनीहरूलाई राति ९ बजेतिर पक्राउ गरिएको उनले बताए ।
ठाकुरबारी रोडको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा उनीहरू पक्राउ परेका हुन् । शंका लागेपछि प्रहरीले उनीहरू सवार कार नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
डीएसपी दाहालका अनुसार पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद गरिएको छ । बरामद भएको ९ तोला ४३ लाल सुनको बजार मूल्य ११ लाख बढी रहेको उनले बताए ।
पक्राउ परेकाको साथबाट प्रहरीले नगद ९८ हजार ३ सय रूपैयाँ पनि बरामद गरेको छ । प्रहरीले कार, सुनका गहना र नगदसहित दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

