वडाध्यक्षमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित वडा कार्यालयमा पुगेर अराजक गतिविधि गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल बिकास समितिकोे बैठक भइरहेको समयमा आक्रमणको प्रयास गर्दै दुव्यर्वहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

युट्युव च्यानलको पत्रकार हुँ भन्दै भिडियो खिच्ने व्यक्तिलाई आन्तरिक छलफल भएकोले भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि दुव्र्यवहार भएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्षमाथि आक्रमण प्रयास गर्दै कालो मोसो दल्ने धम्की दिने तीन जनालाई धरान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कार्वाहीको माग गर्दै वडा कार्यालयको तर्फबाट सदस्य मनिष विष्टले इलाका प्रहरी कार्यालयमा धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले वडामा होहल्ला गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको बताए । ‘भिडियो खिच्दै हुलहुज्जतमा संलग्न भएको आरोमा तीन जनालाई पक्राउ गरेका र वडाको तर्फबाट कारबाहीको लागि उजुरी परेकोले थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । मंगलबार अदालतबाट म्याद थप गरेर ल्याएपछि सार्वजनिक गर्ने प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुमध्ये धरान १७ का स्थानीय गोविन्द श्रेष्ठ, युट्युव च्यानलका ललित भनिने व्यक्ति र अर्का नाम नखुलेका एक व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले आइतबार आफू नभएको बेलामा टोल विकास संस्थाले ध्यानाकर्षणपत्र बुझाएको विषयमा बुझ्नको लागि छलफल गर्ने क्रममा अपरिचित व्यक्तिले आफूमाथि नै अभद्र व्यवहार गरेकोले प्रहरीको जिम्मा लगाएको बताए । टोल विकास संस्थाको नामबाट बुझाइएको ध्यानाकर्षण पत्र पनि किर्ते भएको पाइएको उनको भनाइ छ ।

सोमबार, २५ बैशाख, २०८०, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर