मर्यादित पत्रकारिताको विकास गर्न सरकार प्रतिवद्ध – मुख्यमन्त्री

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि कोशी प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई सबैले सम्मान गर्नु पर्ने पनि उल्लेख गरेका छन् ।

‘इतिहासको छोटो अवधिमै सूचना, शिक्षा र मनोरञ्जनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक परिवर्तन, तथा सरकारलाई खबरदारी गर्दै राष्ट्रिय सङ्कटका वेला नेपाली समाजलाई एकतावद्ध बनाइ राष्ट्र निर्माणमा नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको छ,’ मुख्यमन्त्री कार्कीले जागरी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियासील रहेका सबै नेपाली पत्रकारहरुलाई शुभकामना दिएका हुन् । प्रेस तथाअभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्रणवायु भएको कुरालाई सबैलाई आत्मसात गर्नुपर्ने बताएका छन् । नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन बैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’को रुपमा मनाउने निर्णय २०७३ सालमा भएको थियो । त्यसपछि हरेक वर्षको बैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’को रुपमा मनाइने गरिएको छ । यस अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेशका क्रियाशील पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार मार्फत् सम्मान गर्दै आएको छ ।

उनले नागरिकलाई सुसूचित गराउन सरकार भन्दा स्वतन्त्र प्रेसको भूमिका बढी हुने भन्दै निर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न यो दिवसले हौसला दिने विश्वास व्यक्त गरेका छन् ।

आइतबार, २४ बैशाख, २०८०, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर