सडक तत्काल बनाऊ

 सम्पादकीय

हुलाकी सडक तराईको ‘लाइफलाइन’ मात्रै होइन, यो सडक लाखौं नागरिकको सुनौलो सपना पनि हो । सडक बनेर घरआँगन अघिबाटै
यातायातका साधन आउजाउ गरेको दृश्य, त्यसले दिने सुविधाको कल्पना र त्यही सुविधाको आडमा बढाउन सकिने आर्थिक हैसियतको मिठो सपना साँचिएको थियो , छ । तराई–मधेशका नागरिकले लामो समयदेखि यो सपना साँच्दै आए । उनीहरुको सपना कयौंपटक भोटमा साटिए, आश्वासनमा बद्लिए । तर,सडक बनेन ।

एकातिर सडक बनेन, अर्कातिर ती नागरिकको सपना पूरा हुने दिशामा अग्रसर पनि भएन । जसै सडक बन्न थाल्यो, यही सडक स्थानीयबासीका लागि सुविधाभन्दा बढी सास्ती बनेर उपस्थित भयो । यही सास्तीकै कारण मोरङका संघ र प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि एकैपटक संघर्षको चेतावनी दिन बाध्य भए । मोरङ जिल्लाका ५ वटा स्थानीय तहका धेरै सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेर उपस्थित छ । झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।
सडकछेउका बासिन्दाहरुको घरमा बस्ने अवस्था छैन । अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ । अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । यस्तो अवस्थाको सडकमा बनाउँदा बनाउँदै ठेकेदार कम्पनी बेपत्ता भएपछि हुलाकी सडकमा झनै सकस उत्पन्न भएको छ । यो सकस अन्त्य गर्नुपर्ने जनप्रतिनिधिको माग जायज छ । यो माग पूरा गर्न राज्यका सम्बद्ध निकाय तदारुक बन्नुपर्छ । मोरङमा हुलाकी सडकको कूल लम्बाई ४४ किलोमिटर हो । त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाई किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ । जसमध्ये रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ । रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ । तर, बेतौनादेखि हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ ।

दुईवटा प्याकेजमा भइरहेको काममध्ये बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर क्षेत्रको काम र नयाँ बजारदेखि हाटखोलासम्मको सडकको पनि अवस्था त्यस्तै छ । यो खण्डको कूल लम्बाई साढे ५ किलोमिटर हो । करिब १७ किलोमिटर लम्बाईको क्षेत्रमा काम अलपत्र परेका कारण सर्वसाधारणले सास्ती सहनु परेको छ । यो सास्ती अन्त्य गर्न हुलाकी सडक आयोजना तथा भौतिक निर्माण मन्त्रालयको ध्यान आकृष्ट हुन जरुरी छ । यसै पनि हाम्रो विकास आयोजनाहरु सुस्त विकासको चपेटामा छन् । वर्षौंदेखि धेरै आयोजना अलपत्र छन् । यस्ता आयोजनाहरुलाई द्रुत गति दिन जनप्रतिनिधिहरु सडकमा ओर्लन पर्ने अवस्था आउनु हुँदैन । हुलाकी सडक आयोजनाले ठेकेदारमाथि सुरु गरेको कारवाही प्रक्रियालाई छिटो निष्कर्ष दिएर भए पनि सडकको काम थालिनुपर्छ ।

आइतबार, २४ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर