विराटनगर । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। शनिबार साँझ प्रधानमन्त्री निवासमा बैठक सुरू भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले बताए।
बैठकमा समसमायिक राजनीतिक विषयबारेमा छलफल हुने बताइएको छ। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
उनीहरूबीच झन्डै २ घण्टा छलफल भएको थियो। त्यस छलफलमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाबारे छलफल भएको थियो। एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझी यस प्रकरणमा मुछिएपछि ओलीले यसबारे चासो राखेका हुन्।
रायमाझीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। हाल रायमाझी फरार छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। रास्वपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुपर्ने नपर्ने विषयबारे पनि प्रश्न उब्जिएको छ।

