काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सचिव रहेका रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ ल्याउनने तयारी भएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे जानकारी नभएको बताए । सोही प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरी स्रोतका अनुसार काठमाडौँबाट गएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबुछोरालाई पक्राउ गरिएको हो । छोरा पक्राउ परेपछि बुधबार साँझबाट रायमाझीले मोवाइल अफ गरेर बसेका थिए ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले टोपबहादुरका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको प्रमाण फेला परिसकेको छ । घटनामा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले यो प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् ।

स्रोतः नेपालप्रेस