विराटनगर ।सुनसरीको धरान र इटहरीका मेयरहरु पछिल्लो एक सातायता सीमा विवादलाई लिएर आमनेसामने छन् । धरानका मेयर हर्क साम्पाङ र इटहरीस्थित उनका समकक्षी हेमकर्ण पौडेल आमनेसामने भएको मैदान चाहिँ सामाजिक सन्जाल फेसबुक हो । जहाँ दुवै मेयरले एकअर्कालाई कटाक्ष गर्ने, प्रश्न सोध्ने र जवाफ पनि दिने गरेका छन् ।
‘फेसबुक युद्ध’ मा सक्रिय दुई मेयरमध्ये धरानका साम्पाङले सदा झैं आफूलाई आक्रामक रुपमा पेश गरिरहेका छन् । त्यसक्रममा उनले आफ्ना समकक्षीलाई सम्बोधन गर्ने भाषामासमेत ख्याल गरेको देखिन्न । आदरार्थी शब्द प्रयोग नगरी उनी खनिएको देखिन्छ । इटहरीका मेयर पौडेल भने हर्कको जवाफ शिष्ट र मर्यादित शैलीमा दिइरहेका छन् ।
इटहरी र धरानबीचको सीमा विवाद नयाँ होइन । यसअघि पनि पटकपटक हुँदै आएको विवाद यसपटक पुनः ब्यूँतिएको हो । यो विवाद ब्यूँतिएपछि दुई मेयरबीच फोनमासमेत कुरा हुन छाडेको छ । ‘बसेर विवाद समाधान गरौं भन्नलाई मैले बारम्बार हर्कजीलाई फोन गरेँ उहाँले फोन रिसिभ गर्नुभएको छैन’, इटहरीका मेयर पौडेलले भने ‘कलब्याक पनि गर्नुभएको छैन । संवादका लागि हामीले पत्राचार पनि गरेका छौं । उहाँले कुनै रेस्पोन्स देखाउनु भएको छैन ।’
धरानका मेयर साम्पाङ चाहिँ सुरुदेखि नै एकै वाक्य दोहोर्याइरहेका छन्, ‘हामी इटहरीको भूमि एक इन्च पनि मिच्दैनौं । धरानको पनि मिच्न दिँदैनौं ।’ यसपटक दुई छिमेकी स्थानीय सरकारबीच विवादको सुरुआत धरानका मेयर हर्क साम्पाङले गरेका हुन् ।अघिल्लो आइतबार धरान–इटहरी सीमा छुट्याउने बोर्ड राख्न लगाएर मेयर साम्पाङले पहिलो फायर खोलेका थिए । अघिल्लो आइतबार दिउँसो नगर प्रहरी र कर्मचारीहरु परिचालन गरेर धरान उपमहानगरले पानीपिया क्षेत्रमा ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ लेखिएको बोर्ड राख्यो । यो बोर्ड राखेको जानकारी मेयर साम्पाङले फेसबुकमार्फत सार्वजनिक गरे ।
मेयर साम्पाङको निर्देशनमा राखिएको सीमा छुट्याउने बोर्ड राखिएको पानीपिया क्षेत्र अहिलेसम्म इटहरीको २० नम्बर वडाका रुपमा चिनिन्छ । त्यहाँभन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध मान्दै आएको छ । सरकार मातहतको नापी विभागले जारी गरेको नक्सा भने इटहरीले दाबी गर्दै आएअनुसारको छैन । नापी विभागले जारी गरेको नक्सामा सेउतीपुलदेखि दक्षिण पानीपिया क्षेत्र धरानमै पर्ने देखाइएको छ । यसैलाई र गुगल म्यापसमेतलाई आधार मानेर धरानले आफ्नो सीमा पानीपिया भएको बताइरहेको हो ।
कुनै दुई मुलु्ककै झल्को दिने गरी दुई स्थानीय तहबीच सीमा विवाद उठ्नु स्वाभाविक हो कि अस्वाभाविक ? संघीयताविद् समेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा सीमा विवाद स्वाभाविक भएको बताउँछन् । ‘नेपालमै पनि अरु विभिन्न स्थानमा यस्तो सीमा विवाद उठेका छन् । यसअघि पनि यस्ता विवाद देखिएका छन्’, उनले भने ‘त्यसैले सीमा विवाद अस्वाभाविक होइन । तर, यो विवादले भन्दा संवादमार्फत हल गर्नुपर्ने विषय हो ।’
प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारहरुलाई अनुदान दिने बेलामा सम्बद्ध स्थानीय तहको भूगोलको क्षेत्रफल, जनसंख्या, जनघनत्व लगायतका विषयहरुलाई सुत्रमा ढाल्ने गरेको छ । यसले पनि स्थानीय तहहरु आफ्नो भूगोल ठूलो भएको रुचाउँछन् । त्यसबाहेक प्राकृतिक स्रोत र त्यसबाट हुने आम्दानीका कारण पनि स्थानीय तहहरुबीचको सीमा विवाद पेचिलो हुने देवकोटाको भनाइ छ ।
धरान र इटहरीको विवाद भएको पानीपिया क्षेत्रमा चार वटा सामुदायिक वनहरु छन् । यी सबै वनमा उपभोक्ताहरु भने इटहरी र रामधुनी नगरपालिकाका छन् । बरमपुर सामुदायिक वन, हाँसपोसा सामुदायिक वन, भवानीपुर सामुदायिक वन र शान्तिनगर साुमदायिक वन यही क्षेत्रमा पर्छन् । इटहरीका जनप्रतिनिधिहरु नापी विभागको कमजोरीले विवाद उब्जिएको बताउँछन् । उनीहरुका अनुसार पञ्चायतकालदेखि नै यी जंगल क्षेत्रको संरक्षण तत्कालीन हाँसपोसा गाविसले गर्दै आएको थियो । विभिन्न जातीय संस्कार अनुसार अन्त्येष्टी गरिने स्थलसमेत रहेको यो क्षेत्रमा हाँसपोसा गाउँ पन्चायत र पछि गाविसले गरेका थिए ।
स्थानीय तह पुनःसंरचनाका क्रममा पहिलेको हाँसपोसा गाविस इटहरीमा गाभियो । त्यसपछि सो क्षेत्र आफ्नो संरक्षणमा आएको इटहरीको भनाइ छ । बालानन्द पौडेल नेतृत्वमा रहेको ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ ले हाँसपोसालाई इटहरीमा समेटेको थियो ।
‘त्यसबेला हामीले ४ हजारभन्दा बढी स्थानीय निकायलाई ७१९ वटामा झारेर सरकारलाई प्रतिवेदन बुझाएका थियौं’, आयोगका सदस्य रहेका अधिवक्ता सुनिलरञ्जन सिंहले भने ‘तर, पछि सरकारले आयोगको सिफारिशभन्दा संख्या बढाएर स्थानीय तहको संख्या ७५३ पुर्यायो। धेरै सीमा विवाद त्यही विन्दूबाट सुरु भएको हो ।’ आयोगले सकेसम्म वडाहरु नटुक्रिने गरी सीमा तोकेको थियो । त्यसबेला वडाहरु नटुक्रिने गरी सीमा तोक्दा हाँसपोसा इटहरीमा परेको थियो ।
‘दशकौंदेखि संरक्षण र भोगचलन इटहरीले गरेको आधारमा त्यो भाग हाम्रो हो भन्ने इटहरीको दाबी छ’, मेयर पौडेलले भने ‘तर, नापी विभागले जारी गरेको नक्सा त्रुटिपूर्ण भएकाले विवाद बल्झिरहने गरेको छ ।’ धरानका मेयर साम्पाङले नापी विभागको नक्सा अनुसार धरानको सीमाना खोज्नु आफ्नो कर्तव्य हुने बताइरहेका छन् । ‘सरकारको आधिकारिक नक्सा अनुसारको सीमाना निर्धारण गर्नु हाम्रो दायित्व हो । हामीले त्यही काम गरेका हौं’ उनले भने ।
संघीयताका विज्ञ सांसद देवकोटा र आयोगका सदस्य अधिवक्ता सिंह सकेसम्म दुवै स्थानीय तहले आफै बसेर यो विवाद सल्टाउनु पर्ने बताउँछन् । ‘यस्तै विवाद सुल्झाउन भनेर प्रदेशमा अलग्गै संयन्त्रको परिकल्पना संविधानले गरेको छ’, देवकोटाले भने ‘तर, प्रदेशले त्यो कानुन नै बनाएको छैन ।’
सीमा र संख्या निर्धारण आयोगका सदस्य सिंह भने प्रदेश समन्वय परिषदले यसको हल खोज्नुपर्ने बताउँछन् । ‘छिमेकी स्थानीय तहमा सीमा विवाद निस्कँदा भोलि त्यसले समस्या निम्त्याउँछ’, उनी भन्छन् ‘त्यसैले कि प्रदेश समन्वय परिषदले कि संघीय सरकारले मध्यस्थता गरेर यसको हल खोज्नुपर्छ ।’ दुई स्थानीय तहबीच मौलाएको सीमा विवादले जनस्तरमै वैमनष्यता उत्पन्न गर्ने चिन्ता इटहरीका मेयर पौडेलको छ । ‘त्यसैले संवादमा बसेर हल खोज्नुको कुनै विकल्प छैन ।’
यसपटकको विवादले दुई मेयरलाई फेसबुक जुहारीमा उतारेको छ । इटहरीले मान्दै र दाबी गर्दै आएको ठाउँ (सेउती पुल) भन्दा पाँच किलोमिटर दक्षिण झरेर धरानले सीमा बोर्ड राखेको जानकारी पाएपछि त्यही दिन नै एमाले निकट युवा संघ इटहरीका कार्यकर्ताले उखेलेर फ्याँकिदिएका थिए ।

