भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

विराटनगर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँले घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा, र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसाका दरले घटेर आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । यसअघि तेल उत्पादक कम्पनीहरुको समूह ओपेक प्लसले उत्पादन कटौती गर्ने निर्णय गरेपछि मूल्यमा स्थिरता आउन सकेको थिएन । त्यसपछि केही समय कच्चा तेलको मूल्य उकालो लाग्न थालेको थियो ।

त्यही कारण यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो । उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो । यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोडभन्दा धेरै नाफा रहेको निगमले जनाएको छ ।

तर, पछि विश्व बजारमा तेलको माग कम हुँदा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल ७५ डलरमा कारोबार भइरहेको छ । त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको निगमले जनाएको छ ।
स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ । मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टितेलमा प्रतिलिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो । त्यसपछि निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका साथै आइओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो ।

अहिले भने भारतबाट मूल्य घटेर आएको र निगमलाई पनि नाफा बस्ने देखिएकाले केही रुपैयाँ मूल्य घटाउन सक्ने ठाउँ रहेको स्रोतले जनाएको छ ।

मङ्गलबार, १९ बैशाख, २०८०, बिहानको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर