विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी तीन महिनापछि पार्टी सभापति रवि लामिछाने नै चयन भएका छन् ।
नागरिकता मुद्दामा संसद पद खारेज भएपछि पदमुक्त भएका लामिछानेलाई सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेता चुनेको हो ।
यसअघि लामिछानेलाई दलको नेता बनाउन नेता रहेका डिपी अर्यालले पदबाट राजीनामा दिएका थिए । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेकोमा दलको बैठकले अनुमोदन गरेको हो ।
बैठकपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले दलको नेता चयन भएको र सरकारबारे निर्णय नभएको बताए । सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने उनले जानकारी दिए ।
अब सत्ता पक्षमा रहेर समर्थन मात्रै गरिनरहने निर्णय लिएको छ। अहिले रास्वपाले सरकारलाई दिएको समर्थनलाई कायम राखेको भएपनि सरकारमा सामेल छैन । अब कि सरकारमा जाने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने तत्कालीक निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए ।
बैठकमा पार्टी सरकारमा जाँदा र नजाँदाको फाइदा–बेफाइदाहरुबारे केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री प्रचण्डले पार्टी सभापति रवि लामिछानेसँगको भेटमा साविकको मन्त्रालय र सरकारको न्यूनतम साझा कार्यक्रम संशोधन गर्नेबारे छलफल गर्न तयार भएको भन्दै रास्वपाले सरकारमा सहभागी हुनसक्ने संकेत गरेको छ ।
सोमबारको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ ।