विराटनगर । नेकपा (एमाले) ले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरूट’ अभियान सुरू ग¥यो । दुई महिने अभियानको मुख्य लक्ष्य पार्टीको संगठनात्मक शक्तिलाई आधारभूत तहसम्म विस्तार गर्ने त छँदै थियो, मंसिरमा सकिएको प्रतिनिधि र प्रदेश सभामा अन्यत्र गएको मत फर्काउने र आउँदो निर्वाचनमा पहिलो शक्ति बन्ने ध्येय पनि थियो ।

त्यसो त मुलुकलाई मध्यावधिमा लैजाने एमाले ध्याउन्न नभएको पनि होइन । तर, उपनिर्वाचनमा तीन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिएपछि र ११ महिनाअघि अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मतान्तरले पाखा लगाउने परिस्थिति बनेपछि एमाले थप सशंकित बनेको छ ।

यही अवस्थामा एमालेले वैशाख २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको पाँचौं बैठक गर्दैछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीको बैठक छ–छ महिनामा बस्नुपर्छ। एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठक गत भदौमा बसेको थियो । तीन महिना ढिलोगरी डाकिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्दैछ । एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपत्यकाबाहिर आयोजना गथ्र्यो । तर, केन्द्रीय कमिटी बैठक काठमाडौं उपत्यका छाडेर अन्यत्र लगेको थिएन । यसपटक फरक भूगोल देशका भिन्न–भिन्न विशेषतासँग चिनजान होस् भनेर उपत्यकाबाहिर आयोजना गरिएको पार्टी उपाध्यक्ष विष्णु पौडेल बताउँछन् ।

‘कुनै राजनीतिक सन्देश दिनभन्दा पनि पार्टीका नेताहरूलाई फरक–फरक विशेषतासँग चिनजान होस्, भूगोलबारे ज्ञात होस् भनेर झापामा आयोजना गर्न लागेका हौं,’ उनले भने ।

झापा बैठक मूलतः ‘मिसन ग्रासरूट’को समीक्षामा केन्द्रित रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ बताउँछन् । ‘मिसन ग्रासरूट’ समीक्षाको आधारमा आगामी रणनीति तय गरिने पनि उनले बताए ।

‘नेकपा एमालेको अबको कार्यदिशा भनेको सशक्त प्रतिपक्ष हो । नागरिकले पनि एमालेको त्यही भूमिका अपेक्षा गरेका छन्। हामी सरकार गिराउने र बनाउने खेलमा छैनौं भनेर सन्देश दिन पनि यो केन्द्रीय कमिटीको बैठक महत्वपूर्ण छ । त्यसका अतिरिक्त भ्रष्टाचार र सरकारको अकर्मण्यताविरूद्ध नागरिकलाई सुसूचित गर्न बैठक उपयोगी हुने विश्वास गरेका छौं,’ उनले भने ।