विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ४२२ किलो गाँजा प्रहरीले आज बरामद गरेको हो । भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका वडा २ बेरियारी टोलबाट बरामद गरेको छ ।
जहदा २ का मो मजेबुल मियाँको खेतमा लगाएको मकै बारीमा गाँजा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको टोलीले १४ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीले गाँजा बरामद गरे पनि तस्करीमा संलग्नलाई पक्राउ गरेको छैन । गाँजा धनीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तस्करी गरेर भारत पुर्याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमा नाका हुँदै भारत कटाउने गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट गाँजा बरामद गरेको छ । आज बिहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो ।
सूचनाको आधारमा सशस्त्र प्रहरीले बुढीगंगा गाउँपालिका १ स्थित टंकी सिनुवारि चोकमा सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र काजी निरौलाको कमान्डमा खटिएको ९ जनाको मोबाइल चेक प्वाइन्ट टोलीले चेकजाँच गरेको थियो । इँटहरिबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ भी ७६४५ नम्बरको सेतो कालो रंगको स्कारपियो गाडीलाई चेकजाँच गर्न खोज्दा स्कारपियो नरोकी विराटनगरतर्फ हुइँकिएकोथियो ।
सशस्त्र प्रहरी निरीक्षक निरौलाको टोलीले स्कारपियोलाई पीछा गर्दै जाँदा विराटनगर १ स्थित नोबेल डेरी चोकमा स्कारपियो छाडी चालक फरार भएका थिए । चेकजाँचको क्रममा स्कारपियोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका निमित्त कार्यालय प्रमुख डिएसपी होमनाथ भट्टराईले बताए । बरामद गरेको गाँजा आवश्यक कारबाहीको लागि मोरङ प्रहरी बुझाएको छ ।

