विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिकामा आज कोशी नाम खारेज गर्दै पहिचानको आधारमा नामकरण गर्न माग गर्ने समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जाने क्रममा उनलाई कालोझण्डा देखाइएको हो । ‘कोशी प्रदेश चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरूले ओलीलाई कालो झन्डा देखाएका थिए।
ओली कार्यक्रमस्थलतर्फ जाने क्रममा कालो झण्डा देखाउँदै पहिचान पक्षधरले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ओली बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा कार्यकर्ता भेटघाटको लागि गएका थिए । प्रहरीले घटनास्थलबाट आन्दोलनकारीमध्येका मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ । ओली झापाको कार्यक्रम सकेर इलाम पुगिसकेको प्रहरीले जनाएको छ ।
यसैबीच एमाले प्रतिनिधिसभाका सचेतक पदम गिरीले आजको बैठकमा ओलीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले सत्ताभपक्षकै घुसपैठमा आक्रमण भएको आरोपसमेत लगाए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने संसद बैठकमा कोशी नामकरणमा विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन गर्दै अभद्र व्यवहार गरेको बताए । ओली सहभागी कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा भएको भएपनि प्रहरीले आक्रमणकारीमध्येका एक जनालाई तत्काल नियन्त्रणमा लिएको र शान्ति सुरक्षा कायम गरेको उनको भनाइ छ ।
कोशी नामकरणको विरोध गर्दै आएको पहिचानवादी समूहले कोशी समर्थक नेता तथा कार्यकर्ताको प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ ।
भिडियो स्रोतः बुद्धशान्ति साप्ताहिक