विराटनगर । मोरङको कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय सार्ने विषयमा स्थानीय र गाउँपालिकाबिच विवाद भएको छ ।

साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा सुविधा सम्पन्न भवनमा वडा कार्यालय बनाइएको थियो । बुधवार आफ्नै भवनमा वडा कार्यालय सार्न खोजेपछि स्थानीय र गाउँपालिकाबिच विवाद भएका हो ।

वर्षौँदेखि जीर्ण भवनमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर वडा कार्यालय बस्दै आएको छ । कटहरी ४ जुडी र नयाँ बजारका केही स्थानीयको अवरोध र वडाध्यक्ष जिवनेश्वोर यादवको दोहोरो चरित्र देखाउँदै गरेको असहयोगको कारणले वडा कार्यालय सार्न नसकेको बुझिएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले वडा कार्यालय सार्न ९ बजे वडा कार्यालय गाडी पढाएका थिए । तर, स्थानीयले वडा कार्यालयबाट कागजपत्र झिक्न नदिई वडा कार्यालय अगाडी अवरुद्ध गरेका थिए ।

प्रहरी प्रशासनबाट असहयोग भएको कारणले वडा कार्यालयको भवन सार्न नसकिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । ‘वडा कार्यालयको आफ्नै भवन बनिसकेको छ । हामीले आफ्नै भवनमा वडा कार्यालय लैजान कार्यपालिकाबाट निर्णय पनि गरिसकेका छौँ,’ उनले भने, ‘आज कार्यालय सार्न खोज्दा केहीले अवरोध गरेका छन् । तर, प्रहरी प्रशासनबाट साथ सहयोग नभएको कारणले सार्न कठिनाइ भइरहेको छ ।’ बिहीबारबाट नयाँ भवनबाट कर्मचारीहरूले सेवा  संचालन गर्ने उनले बताए । ‘अहिले फेरी नयाँ भवनमा जाँदै छौँ,’ उनले भने, ‘भोलिबाट नयाँ भवनबाट वडा कार्यालयको काम कारवाहीहरु सुचारु गर्नेछौँ ।’

चार कोठाको पक्की एक तले भवन ८८ लाख ४५ हजार ४२७ रुपैयाँमा एक वर्ष अगाडी कटहरी ४ चमडाइ चौकदेखि तीन सय मिटर उत्तरमा बनेका छ । वडा कार्यालयको भवन २०७७ जेठ ११ गते सम्झौता भएर २०७७ चैत २० गते सम्पन्न भएको थियो ।

एक वर्ष अगाडी भवन निर्माण भइसक्दा पनि विवादको कारणले नयाँ भवनमा वडा कार्यालय नसरी मासिक २० हजार रुपैयाँ तिर्दै जीर्ण भवनमा बस्दै आएको छ । वडा कार्यालय सार्न कटहरी गाउँपालिका ४ का वडाध्यक्ष जिवनेश्वोर यादव नमानेपछि गाउँपालिका अध्यक्ष चौधरीले चार महिनादेखि वडा कार्यालयको भाडा रोकिदिएका छन् । गत पुस २६ गते कार्यपालिका बैठकबाट नयाँ भवनमा वडा कार्यालय सार्ने निर्णय भएको थियो । निर्णय भए पनि वडाध्यक्ष यादवको असहयोगको कारणले वडा कार्यालयको भवन सर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय मोरङले पनि गत शुक्रवार कटहरी गाउँपालिका ४ को नवनिर्मित भवनमा वडा कार्यालय लैजान गाउँपालिकालाई निर्देशन दिएको छ । वडा कार्यालय सार्न दिएको एक हप्ता हुन लाग्दा पनि कार्यालय सर्न सकेको छैन ।

कटहरी ४ का वडाध्यक्ष यादवले कार्यालय सार्न आनाकानी गरेको कारण एक वर्षदेखि  नयाँ भवन प्रयोगविहीन छ भने भाडाको जीर्ण भवनमा कार्यालय सञ्चालित छ । वडाध्यक्ष यादवले अहिले वडा कार्यालय रहेको स्थान सबैलाई पायक पर्ने भएको र स्थानीयको दबाबको कारण सार्न नसकिएको बताए । ‘अघिल्लो पटकको गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले पनि यो कार्यालय सार्न नसकेको हो,’ उनले भने, ‘यहाँका जनताले साथ सहयोग दिन नसकेको कारणले नयाँ बनको भवनमा जान नसक्ने अवस्था रहेको छ ।’