विराटनगर । विराटनगर– ३ मा रहेको ताण्डव रेस्टुरेन्टमा उत्पादन मिति र लेवल नलगाएको खाद्यवस्तु राखेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ ।
ताण्डव रेस्टुरेन्टमा खाजा खाएका उपभोक्ताहरु विरामी भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार अनुगमन गरेको हो ।
अनुगमन नहुँदा अस्वस्थ खाद्यान्न खानउपभोक्ता बाध्य भनेर हाम्रोमतले समाचार प्रकाशित गरेको थियो । उक्त समचारलाई सूचनाको रुपमा ग्रहण गर्दै खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको थियो । त्यसक्रममा रेस्टुरेन्टको भान्सामा उत्पादन मिति नभएको र लेवल पनि नलगाएको नुडल्स भेटेपछि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक विरेन्द्रकुमार दासले जानकारी दिए ।
‘अनुगमनको क्रममा नुडल्समा लेबल र उत्पादन मिति नभएको पाइएपछि नष्ट गरियो । हामीले सरसफाइमा पनि सुधार गर्न निर्देशन दिएका छौं,’ खाद्य निरीक्षक दासले भने, ‘रेस्टुरेन्टमा काम गर्ने कुक र वेटरले एप्रोन पनि नलगाएको पाइएपछि लगाएर मात्र काम गर्न सुझाव दिएका छौं ।’
ताण्डव रेस्टुरेन्टलाई तीन दिन भित्रमा सुधार गरेर कार्यालयमा हाजिर हुन निर्देशन दिइएको उनले बताए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी, खाद्य निरीक्षक विरेन्द्र कुमार दास, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेल,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका बिर्खबहादुर घिमिरे, विराटनगर महानगरपालिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शुक्रबार ताण्डव रेस्टुरेन्टमा खाजा खाएपछि प्रदेश सांसद गणेश उप्रेतीसहित पाँच जना विरामी परेका थिए । उनीहरूले खाजा खाएको २४ घण्टा बित्न नपाउँदै उप्रेतीसहित उनकी श्रीमती नरमाया भट्टराई गरिमा, छोरी शैली विरामी भएका थिए । सांसद उप्रेतीकी पत्नी गरिमा र छोरीलाई झाडापखाला र ज्वरोले सताएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा राखेर अहिले उपचार भइरहेको छ ।

