विराटनगर । नेकपा एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढालेर अर्को बनाउने कसरतमा विपक्षी दलहरु जुटेका बेला एमाले भने सरकार टिकाउन अरु दलका सांसद फकाउने योजनामा लागेको छ ।
उपनिर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरुमा नयाँ सरकार गठनको अर्को धपेडी सुरु भएको छ । यसका लागि कोशी प्रदेशका नेताहरु संघीय राजधानी काठमाडौं दौडमा व्यस्त छन् ।
केन्द्रकै जस्तो गठबन्धन अनुसार प्रदेश सरकार बनाउन काँग्रेस, माओवादी र एकीकृत समाजवादी लागेका बेला एमालेले भने प्रदेशमा ‘नयाँ टंक आङ्बुहाङ जन्माउने’ पहल गरिरहेको छ ।
‘काँग्रेस, माओवादी र एकीकृत समाजवादीकै केही सांसदलाई सरकारमा ६ महिना मन्त्री बनाउने र अहिलेकै सरकारलाई समर्थन गर्न लगाउने प्रयास पनि भइरहेको छ’ एमाले प्रदेशका एक नेताले भने ‘अर्को टंक आङबुहाङ जन्माएर भए पनि सरकार टिकाउने हाम्रो योजना छ ।’ अहिले नै यो पहल थालिनसकेको बताउने ती नेताले ‘आवश्यक परे थाल्ने’ तयारीमा रहेको सुनाए ।
टंक आङबुहाङ प्रदेशसभाको पहिलो कार्यकालमा ताप्लेजुङबाट निर्वाचित माओवादी सांसद थिए । माओवादी प्रदेश संसदीय दलको नेतासमेत रहेका उनी नेकपा भएपछि दलको उपनेता बनेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा पनि नेकपाभित्र ध्रबीकरण सुरु भएको थियो । त्यसक्रममा ढुलमुल ढुलमुल हुँदै गएका उनी अन्ततः सर्वोच्च अदालतले नेकपा फुटाइदिएपछि एमालेतिर लागेका थिए । उनलाई माओवादीले कारवाही गरेर सांसद पदबाट पदमुक्त गरेको थियो । त्यसवापत उनी केही समय आर्थिक मामिला मन्त्री बनेका थिए ।
एमाले राप्रपाले आफ्नो साथ नछाड्ने र अर्को गठबन्धनलाई साथ नदिने आत्मविश्वासमा छ । राप्रपा नेताहरुले पनि यसबारे कहिँकतै प्रष्ट कुरा गरिसकेका छैनन् । अहिले कुनै छलफल नभएको भन्दै प्रश्न पन्छाइरहेका उनीहरु संसदीय समितिको नेतृत्व र मन्त्री संख्या बढाउनु पर्ने भनेर दुवैतिर संवादमै रहेका छन् । अहिले एक जना मन्त्री लिएर राप्रपा सरकारमा छ ।
मुख्यमन्त्रीहरु पदमुक्त नै भइसकेका कारण लुम्बिनी र गण्डकीमा नयाँ सरकार गठनको काम चाँडै हुने सम्भावना छ । नेकपा एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र प्रदेश सरकार कोशीमा नयाँ सरकार बनाउने कसरत सुरु भए पनि यसले भने केही समय लिनसक्नेछ ।
वर्तमान सत्ता गठबन्धनका तीन मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा शीर्ष नेताहरु भेटेर यस्तो कसरत गरिरहँदा प्रदेशको नेतृत्वमा रहेको एमाले भने अर्को दलका सांसद फकाउने अभियानमा जोडतोडले लागेको छ । यसरी उपनिर्वाचनको समापन कुरिरहेका दलहरुले प्रदेशमा नयाँ सरकार बनाउन र आफ्नो सरकार टिकाउन खेल सुरु गरेका छन् । अहिले कोशी प्रदेशमा विपक्षमा रहेको मुख्य प्रतिपक्षी दल काँग्रेस, अर्को विपक्षी दल एकीकृत समाजवादी र अहिले सत्तासीन रहेको माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि कसरत सुरु गरिसकेका छन् ।
केही दिनयता काठमाडौंमा बसेर शीर्ष नेताहरुसँग यहीबारेमा छलफल चलाइरहेका यी तीन वटै दलका प्रदेशका नेताहरुले मंगलबार पनि नेताहरुसँगको भेटघाट जारी राखेका छन् । ‘एक चरण सबैसँग कुराकानी भइसकेको छ’, पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने ‘हामीले आज पनि भेटघाट गरेका छौं । अब चाँडै माओवादी र जसपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।’
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वमा रहेको सरकारबाट माओवादी र जसपा कहिले बाहिरिने भन्ने टुंगो ‘आजभोलिमै लाग्ने’ नेता राईले बताए । ‘त्यसै विषयमा नेताहरुसँग चरण–चरणमा छलफल भइरहेको छ’, उनले भने ‘आजभोलिमै यसबारे टुंगो लाग्ला ।’ पूर्व मुख्यमन्त्री राई, काँग्रेस प्रदेशका नेता उद्धव थापा र माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले सबै शीर्ष नेताहरुसँग भेटेर छलफल गरेको र अब निर्णायक ग्रिन सिग्नल आएपछि प्रक्रिया अघि बढ्ने नेताहरु बताउँछन् ।
‘हामी तीनै जनाले एकचरण सबै नेतालाई भेटेर प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छौं’, माओवादी नेता आङ्बोले भने ‘केन्द्रको गठबन्धनको स्पिरिट अनुसार सरकार फेर्ने कुरामा दुईमत छैन । तर, कसरी अघि बढ्ने भन्ने जवाफ शीर्ष तहबाट आइसकेको छैन । हामी छलफलकै क्रममा छौ ।’
अहिले केन्द्र र कोशी प्रदेशको गठबन्धन फरक छ । केन्द्रमा माओवादी नेतृत्वमा एमालेबाहेकको गठबन्धन छ भने कोशी प्रदेशमा भने एमाले नेतृत्वमा काँग्रेस र एकीकृत समाजवादीबाहेकको गठबन्धन छ । नेताहरुले केन्द्रकै मोडालिटी अनुसारको गठबन्धन प्रदेशमा पनि बन्ने बताइरहेका छन् । राप्रपालाई नयाँ गठबन्धनमा सामेल गराएर भए पनि नयाँ सरकार बनाउने कसरतमा गठबन्धनका नेताहरु छन् । यद्यपि एमालेको क्याम्प छाडेर राप्रपा जाने–नजाने टुंगो भने छैन ।
कूल ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ। कोशीमा एमालेसँग ४० जना सांसद् छन् । त्यो संख्यामा जम्मा ७ जना थपिँदा उसलाई सरकार बनाउन पुग्ने बहुमत पुग्छ । अहिले सभामुखसहित १३ सदस्य भएको माओवादी, ६ जना सांसद भएको राप्रपा र १ जना सांसद भएको जसपाले साथ दिएका छन् । तर, चाँडै माओवादी र जसपाले साथ छाडेपछि उसले बहुमत गुमाउनेछ ।
त्यसबेला मुख्यमन्त्री कार्कीसँग उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ जना गरी प्रदेश सभाका ४६ जना सदस्य मात्रै साथमा हुनेछन् । यो संख्या बहुमतभन्दा एक कम हो । जसपा र माओवादीले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिँदा कार्कीले ४६ मत मात्रै पाउने अवस्था बन्नेछ र त्यसपछि उनको सरकार ढल्नेछ ।
‘त्यसपछि हाम्रो गठबन्धनको सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार नै गठन हुनेछ’, पूर्व मुख्यमन्त्री राईले भने ‘ यसबारेमा हामीले महान्यायाधिवक्ताहरुदेखि संवैधानिक कानुनका ज्ञाताहरुसँग पर्याप्त छलफल गरेका छौं ।’उनका अनुसार कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी ४७ जनाले नयाँ सरकार बन्नेछ । उनले प्रदेशलाई अनिर्णयको अवस्थामा नराख्न सभामुखले पनि मतदान गर्नसक्ने बताए । ‘हामीले संविधानका ज्ञाताहरुको राय लिँदा प्रदेशलाई अनिर्णयको बन्दी नबनाउन सभामुखले सरकारका पक्षमा मतदान गर्न मिल्ने र त्यो निर्णायक मत हुने ठहर भएको छ। सोही अनुसार हामी अघि बढेका छौं’, राईले भने ।
गठबन्धनभित्र अहिले सभामुखको राजीनामाको विषय पनि उठिरहेको छ । खासगरी कांग्रेस नेताहरूले सभामुखले राजीनामा दिएर भए पनि सरकारका लागि चाहिने बहुमत जुटाउनु पर्ने बताइरहेका छन्। माओवादी नेताहरू त्यहाँसम्म जान नपर्ने बताइरहेका छन् ।
त्यसो त साताअघि प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्नेक्रममा मुख्यमन्त्री हिक्मत कार्कीले ‘सर्वदलीय सरकार बनाउन’ आह्वान गरेका थिए । त्यसलाई गठबन्धनका नेताहरुले सत्ता खुस्कन लाग्दाको अनावश्यक आह्वान भनेका थिए । ‘लोकतन्त्रमा सत्ता पक्ष र विपक्ष भन्ने कुरा हुन्छ’, काँग्रेस नेता केदार कार्कीले भने ‘अन्य विकल्प हुँदाहुँदै सर्वदलीय सरकार भन्नु आफ्नो नेतृत्व गुम्न लाग्दाको अनावश्यक स्टन्ट मात्रै हो ।’

