इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कारण राजधानी विराटनगरमा अशान्ति भएको आरोप लागेको छ ।
नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री केदार कार्कीले मुख्यमन्त्री र मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कारण विराटनगर अशान्त भएको आरोप लगाएका हुन् ।

प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचानवादी समूह सँग संवाद र वार्ता नगर्नु गलत भएको कार्कीको भनाइ छ । प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरू आन्दोलनमा छन् ।

आन्दोलनको क्रममा पदम कुमार लिम्बु (लाजेहाङ्ग) को मृत्यु भएपछि आन्दोलन उग्र बनेको हो । लाजेहाङलाई सरकारले सहिद घोषणा गरेको छ । तथापि नाम परिवर्तन हुनुपर्ने पहिचानवादीहरूको माग छ ।

शनिबार लाजेहाङको शव लिएर विराटनगरमा परिक्रमा गर्ने क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । आन्दोलनको विषयमा सरकार र प्रशासन गम्भीर नभएको कार्कीले बताएका छन् । ‘यो साझा सबाल हो, सबैको एकताले समाधान गर्नुपर्छ’ उनले भने ।