विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर हस्तान्तरण गरिएको छ ।

आइतबार आयोजित ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्याक्रममा गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।करीव एक करोड रुपैयाँको लागतमा निर्मित ती घरहरु भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको विशेष आतिथ्यतामा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

झापा उद्योग बाणिज्य संघमा अध्यक्ष समेत रहेका स्वर्गीय दाजु ओम प्रकाश गोयलको सम्झनामा घर निर्माण गरीएको दिनबन्धु गोयलले बताए । गरपालिकासँगको सहकार्यमा गरीव तथा विपन्न परिवारलाई घर बनाइदिएको उनले बताए ।

भद्रपुर–६ का वडाध्यक्ष रतीया राजवंशीको अध्यक्षतामा आयोजित घर हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गोपाल बहादुर बस्नेतले गोयल परिवारबाट समाजसेवाको उदाहरणीय कार्य प्रस्तुत भएको भन्दै प्रशंसा गरे ।

भद्रपुरका मेयर पोखरेलले पनि आफु जन्मे हुर्केको ठाउँलाई सम्झिएर गोयल परिवारले निरन्तर रुपमा समाजसेवाका माध्यमबाट सहयोग गर्दै आइरहेको बताए । उनले भद्रपुरको आर्थिकमात्रै नभई सामाजिक क्षेत्रमा समेत गोयल परिवारको ठुलो योगदान रहेको चर्चा गरे ।

उपमेयर राधा कार्कीले भजन गाउने मुखभन्दा सेवा गर्ने हात धेरै पवित्र हुने भन्दै सामाजिक क्षेत्रमा गोयल परिवारको योगदानको खुलेर प्रशंसा गरिन् । साथै आगामी दिनमा पनि निरन्तर सेवामा समर्पित भई समाजसेवामा सवैभन्दा उत्कृष्ट नमूना व्यक्तित्व बन्नका लागि आग्रह गरिन् ।

गोयल परिवारले स्थानीय साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरन राजवंशीका लागि घर निर्माण गरिदिएका हुन् ।
घर हस्तान्तरण कार्यक्रमकै अवसरमा १४ घर परिवारका ज्येष्ठ सदस्यहरु बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई लत्ता कपडा र जनही नगद एक हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, घर प्राप्तकर्ताका तर्फबाट लखन माझी, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशी, विराटनगर गौसदनका अध्यक्ष शंकरलाल अग्रवाल, आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी लगायतले गोयल परिवारले सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

घर हस्तान्तरण गरिएका १४ परिवारमा सवै उमेर समुहका गरी ६५ जनाको बसोबास रहेको जनाइएको छ ।