विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको आज अन्त्येष्टि गरिँदैछ ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।
यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।
लाजेहाङको अन्त्येष्टि गर्नुअघि विहान १० बजे धरानमा, ११ बजे इटहरीमा, १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने, दिउँसो साढे दुईबजे लाजेहाङको निवास बेलबारीमा लाने र चार बजे राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिने संघर्ष समितिका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।
उनको अन्त्येष्टिमा किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, किरात धर्म तथा साहित्य संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, जनजाति नेता आङ्काजी शेर्पा लगायत उपस्थित रहने संघर्ष समितिले जनाएको छ ।

