पीडितको घाउमा नुनचुक

 सम्पादकीय

केही महिनायता संघीय राजधानी काठमाडौंमा मिटरब्याज पीडितहरु निरन्तर आन्दोलनमा छन् । केही दिनयता प्रहरी तिनै पीडितप्रति नराम्ररी दमनमा उत्रिएको छ । यसको चौतर्फी विरोध भइरहेको छ । न्याय माग्न पैदलै हिँडेर काठमाडौं पुगेका, न्यायको आशमा सिंहदरबारतिर आशावादी नजर लगाइरहेका पीडितलाई न्याय दिन सरकार किन यति कठोर बन्दैछ, बुझिनसक्नु छ । सरकार यसबारे राम्रो जानकार छ, कि मिटरब्याजको अन्यायपूर्ण बोझले मुलुकका हजारौं गरिबको उठिबास लागेको छ । धेरैले यसैको ताडना सहन नसकेर आत्महत्यासमेत गरेका छन् । त्यसैले पीडितलाई दमन गरेर उनीहरुको पीडाको घाउमा नुनचुक छर्ने काम सरकारले बन्द गर्नुपर्छ । उनीहरुलाई न्यायका लागि सरकारले आश्वस्त तुल्याउनुपर्छ ।

यतिका वर्षसम्म मिटरब्याजीहरुले कसरी उन्मुक्ति पाउँदै आए ? जवाफ प्रष्ट छ , फितलो प्रहरी अनुसन्धान र दोषीहरुले प्राप्त गर्ने राजनीतिक संरक्षणको आडमा मिटरब्याजको अपराध संरक्षित थियो र छ । अहिले पनि यो अपराध घटेको छैन, बढ्दै गएको छ । पीडितहरु झन्–झन् पीडित हुँदै गएका छन् । अभावग्रस्त जीवन बाँचिरहेका सर्वसाधारणहरुमाथि मिटरब्याजीहरुले लादेको यो भारी बिसाउने उपायको खोजी राज्यले गर्नुपर्छ । मिटरब्याजको जालो भत्काउने काममा प्रहरीले अग्रसर हुनुपर्छ, न कि न्याय खोज्दै राजधानी पुगेकाहरुलाई दमन गर्न ।

गरिबहरुका लागि हाम्रा बैंक तथा वित्तीय संस्थाहरु सहयोगी छैनन् । उनीहरुले गाउँघरकै साहु महाजनको दैलो चहार्नुपर्ने बाध्यता चर्को छ । त्यही मौका छोपेर उनीहरुले चर्को ब्याज असुल्ने काम गर्छन् । यदि निर्धन नागरिकको पनि वित्तीय संस्थामा पहुँच हुन्थ्यो भने सम्भवतः यस्तो अवस्था नआउन सक्थ्यो । त्यसैले गरिब नागरिकको पनि बैंकिङ पहुँचका लागि राज्य गम्भीर बन्नुपर्छ । मिटरब्याजको समस्या कुनै एक ठाउँमा मात्रै सिमित छैन । पछिल्लो पटक सरकारले आह्वान गर्दा केही दिनमै देशभरबाट हजारौं उजुरी परेको थियो । यसले मिटरब्याजको समस्या सोचेभन्दा व्यापक भएको देखाउँछ । यो जालो भत्काउन सरकार प्रतिबद्ध हुनुपर्छ । गरिब नागरिकको रगत र आँसुको मूल्य सम्झेर पनि सरकारले यो जालो भत्काउन खुट्टा कमाउन हुँदैन ।

अहिले देशव्यापी रुपमा आन्दोलनमा रहेका पीडितहरुलाई न्याय दिलाउने, मिटरब्याजको बोझबाट मुक्ति दिने दायित्व भुलेर राज्यले उनीहरुलाई लाठी बर्साउने काम आपत्तिजनक छ । पीडितलाई लाठी होइन, न्याय चाहिएको छ भन्ने तथ्य सरकारले बुझ्न ढिला गर्नु हुँदैन ।

बिहिबार, ०७ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर