विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धीको रुपमा अघिकांश पुरानै कामको फेहरिस्त सुनाए । ‘एक सय दिनमा के नै काम हुन्छ र यो सार्वजनिक गर्नु भनेको बिरालो बाँधेर श्राद्ध गरेजस्तै मात्रै हो,’ उनले प्रारम्भमै यस विषयलाई स्वीकार गरे ।

कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरुको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख छन् ।

यस्तै कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको र कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धीमा राखिएको छ । आफू मुख्यमन्त्री भएपछि एउटा विधेयक निर्माणाधिन रहेको, प्रदेशसभाबाट ३ वटा विधेयक स्वीकृत भएको, प्रदेश प्रमुखबाट दुईवटा विधेयक प्रमाणिकरण भएको, प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको उल्लेख छ ।

यस्तै आर्थिक क्षेत्रमा पदेश अन्तर्गतका सबै मन्त्रालय÷आयोग÷सचिवालय÷कार्यालयहरुको चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्य सम्वन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उल्लेख छ ।

यस्तै ९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नवीकरण भएको विषयलाई पनि उपलब्धीको रुपमा राखिएको छ । उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीति अनुरुप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरुलाई प्रति लिटर दुई रुपैयाका दरले  १ करोड १७ लाख  रकम उपलब्ध गराईएको पनि सय दिने उपलब्धीमा उल्लेख छ ।

प्रदेशमा समग्र कृषि क्षेत्रको ब्यवस्थित र योजनाबद्ध विकासकाका लागि प्रदेशमा कृषि विकासको १० वर्षे योजना सहित २० वर्षे कृषि विकास रणनीतिको मस्यौदालाई अन्तिम रुप दिने कार्य पनि भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । सय दिनमा ७५० हेक्टर जमिनमा सिंचाई सेवा पुर्याएको, करिव ६० वटा नदि नियन्त्रण योजनाहरुको निर्माण गरेको, साना सिंचाइ कार्यक्रम मार्फत क्रमागत करिव ५० वटा योजना सम्पन्न गरेको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न भइ प्रदेश भित्रका करिव २५ हजार नागरिकलाई पर्याप्त, सफा र सुरक्षित खानेपानी सुविधा पुर्याएको उपलब्धीमा उल्लेख छ ।

यस्तै कार्की नेतृत्वको सरकार बनेपछि प्रदेशभरमा  ११६ कि.मी. सडक कालो पत्रे गर्ने काम सम्पन्न भएको, उदयपुर स्थित वाउन्न खोला पुल र वलान खोला पुल तथा मोरङ्ग स्थित केशलिया खोला पुल रमहिमा खोला पुल निर्माण सम्पन्न भएको तथा प्रदेशका विभिन्न स्थानका १५ वटा झोलुङ्गे पुल निर्माणको काम ९० प्रतिशतले सम्पनन भएको पनि उल्लेख गरेको छ । प्रदेश सरकारले सम्पन्न गरेका भनिएका यी आयोजना र कामहरु अधिकांश चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रम हुन् ।