विराटनगर । विद्युत प्राधिकरणले सूचना नदिइ दैनिक लामो समय विद्युत आपूर्ति बन्द गर्दा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै उद्योग संगठन मोरङले विरोध जनाएको छ ।

गत पुस महिनादेखि उद्योग क्षेत्रले अनिमित विद्युत आपूर्ति, ट्रिपिलिङ, लोभोल्टेज जस्ता समस्या भोग्दै आएकोमा पछिल्लो समय समस्या झन् बढेकोले समाधान गर्न संगठनले माग गरेको छ ।

संगठनले सोमबार प्रेस नोट जारी गरी विद्युत आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भइ अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्ष्ँमता नै ह्रास आइरहेको जनाएको छ । विद्युत समस्याका कारण उद्योग व्यवसाय निर्वाध संचालन हुन नसके उद्योगीहरु उद्योग बन्द गरेर सडकमा आउन सक्ने चेतावनी पनि संगठनले दिएको छ । प्रेस नोटमा उद्योग संगठनले उद्योग व्यवसाय बन्द हुँदा आउने विकराल अवस्थाप्रति सचेत रहन पनि आग्रह गरेको छ ।

लामो समयदेखि बजारको मन्दी, चर्को ब्याजदरको समस्या आदि झेल्दै आएको उद्योग व्यवसाय क्षेत्रले पछिल्लो समय विद्युतको समस्या भोग्नु परेकोमा चिन्ता जनाएको हो । उसले विद्युत आपूर्ति नियमित गरी सहज अवस्था बनाउन प्राधिकरणलाई अनुरोध समेत गरेको छ ।