विराटनगर । वीरगञ्जका रामबिहारी साहका ३ छोराछोरी छन् । जेठा छोरा सुरेश साह ३५ वर्षका भए । छोरी मेनुका २७ वर्षकी भइन् । कान्छा छोरा अनिल अनिल २४ वर्षका भए । तिनै जना डाक्टर हुन । सुरेश विराटनगरको न्युरो अस्पतालका बालरोग विशेषज्ञ हुन् छोरी मेनुका डेन्टल सर्जन हुन् । अनिल पनि एमडीको तयारी गरिरहेका छन् । । मबिहारी पनि अवकाशप्राप्त सरकारी कर्मचारी नै हुन् ।
बुवा कर्मचारी भएका कारण पनि छोराछोरीको बाल्यकाल सामान्य बित्यो । तीनै जना वीरगञ्जमा जन्मेका हुन् । बुवा पनि सरकारी कर्मचारी भएकाले पठनपाठन सहज नै भयो । घरमा बुवा बौद्धिक र कर्मचारी भएकाले शिक्षाको महत्त्वबारे बुझ्न अप्ठ्यारो परेन । घरमा अभिभावक पढेलेखेका भएकाले बालबालिका सानैदेखि पढाइप्रति आकर्षित नै थिए ।
बुवाले घरमा समय दिने भएकाले उनीहरू कहिल्यै ट्युसन जानुपरेन । तराईमा जन्मे–हुर्केको उनीहरूको परिवार गाउँमा शिक्षित परिवार नै मानिन्थ्यो । गाउँलेले रामबिहारीका छोराछोरी भविष्यमा कस्ता हुन्छन् भनेर भन्ने गरेका थिए ।
बुवाको इज्जत धान्नका लागि पनि छोराछोरीले पढ्नैपर्ने बाध्यता थियो । भाइबहिनीले पनि दाजुकै लय पछ्याए । तीनै जना निजी विद्यालयमा पढेका हुन् । तीनै जना विद्यालयमा पढ्दा प्रथम हुने गरेका थिए ।
सुरेश विवाहित पनि हुन् । उनकी पत्नी पनि डाक्टर नै हुन् । एमबीबीएस सकेर एमडीको तयारी गरिरहेकी छन् ।
सुरेश अन्य डाक्टरहरूभन्दा भिन्न तरिकाले बिरामीको उपचार गर्ने गर्छन् । डाक्टरले मिठो बोल्यो भने पनि बिरामीको रोग केही कम हुन्छ भन्ने उनको विश्वास छ । पहिलोपटक बिरामी भएर आएका बिरामीहरू दोस्रो पटक त्यही रोग लिएर उनकोमा आउँदैनन् । धेरै डाक्टरको बोली सुन्दा नै बिरामीले पीडा कम भएको महसूस गर्ने गरेका छन्, त्यसमध्येका सुरेश पनि हुन् । बिरामीसँग उनको सामिप्यता लोभलाग्दो छ ।
बिरामी शारीरिक रोगी हुन्छन् तर सँगसँगै बिरामीहरूमा मानसिक विचलन पनि आउँछ । ‘बिरामीको समस्या सुन्नका लागि पनि मित्रवत् व्यवहार हुनुपर्छ । साथीको व्यवहार गर्नुपर्छ । साथी जस्तो व्यवहार गर्यो भने सबै खुलेर भन्छन् । सबै समस्या राख्ने ठाउँ रहेछ भन्छन्, नरम भएर व्यवहार गर्यो भने, दिमागलाई पोजेटिभ बनायो भने मात्रै छिट्टै रोग निको हुन्छ,’ सुरेशले भने ।
डाक्टर पनि ‘सेनापति’ भएकाले बिरामीको मन जित्ने गरी काम गर्नुपर्ने उनको तर्क छ । ‘बोली र कमान्डकै कारण सेनाले युद्ध जिते जसरी नै डाक्टरले पनि बिरामीको मन जित्नका लागि व्यवहार बदल्नुपर्छ,’ उनले भने, ‘अब औषधि नियमित खानुपर्छ, डाक्टरले भने जसरी पोषण पनि खानुपर्छ भन्ने बिरामीको दिमागमा पर्यो भने त्यो बिरामी पुनः त्यही रोग लिएर अस्पताल आउँदैन ।’

