विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्नको लागि समझदारी भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी प्रदेश अन्तर्गत कोशी अस्पतालबीच बुधबार समझदारी भएको हो ।

समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा. रविराज सिंहबीच हस्ताक्षर समेत भएको छ । कोशी अस्पतालका मेसु डा. सिंहले एक वर्षभित्र कोशी अस्पतालबाट मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरूमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता समझदारी भएको जानकारी दिए ।

पछिल्लो समय स्वास्थ्य सेवामा सुधार गर्दै गएको कोशी अस्पतालले पूर्वाधार तथा सेवा विस्तार आदि कार्यमा थप सफलता प्राप्त गर्दै आएको छ । उक्त सम्झौतापछि कोशी प्रदेशमा पहिलो पटक प्रदेश अस्पतालले अङ्ग प्रत्यारोपण सेवा विराटनगरबाटै दिने तयारी थालेको देखिएको छ । योसँगै मिर्गौला रोगीले उपचार गर्न जिल्ला बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ ।

उक्त समझदारी अन्तरगत कोशी अस्पतालमा कार्यक्रमहरूको लागि चाहिने जनशक्ति र उनीहरूलाई तालिम, अध्यापन जस्ता कुराहरू सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने सहमति समेत भएको छ ।
अहिले कोशीमा दैनिक १५ देखि १७ जनासम्मको नियमित डायलाइसिस हुँदै आएको छ । अस्पतालमा ८ शैय्या रहेका छन् ।

कलेजो र मृगौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको बताइएको छ । मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने वर्तमान अवस्थामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार गर्दै सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने योजना बनाएको हो ।

नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको बताइएको छ । जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करीव ३ हजार जनाको मृगौला फेल र एक हजार जनाको कलेजो फेल हुने गरेको तथ्याङले देखाएको छ ।

कलेजो र मृगौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता भन्दा अतिकम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउनन सक्ने वर्तमान अवस्थामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने योजना बनाएको छ ।