समृद्धिको शर्तः सडक

 सम्पादकीय

भनिन्छ, विकासको घोडा व्यवस्थित राजमार्गमा मात्रै दौडिन सक्छ । यो पंक्तिको मुख्य सार विकासको अत्यावश्यक शर्त नै सडक हो भन्ने हो । अझ सडक पूर्वाधार सबैतिर पुगिनसकेको नेपालका पहाडी भूभागका लागि त सडक वरदान नै सावित हुन्छ । सडक अभावको पिरलो भोगिरहेका नागरिकका लागि सडक सुविधा मात्रै होइन, एउटा ठूलो सपना हो । उनीहरुमा जीवन र भविष्यप्रति आशा जगाउने एउटा मुख्य आधार पनि हो । त्यसैले सडक पूर्वाधारको विकासले आम नागरिकलाई सुविधा त दिन्छ नै, उत्साहले आत्मविश्वास पनि भर्छ । पछिल्लो समयमा विस्तार भएका ठूला–साना सडकहरुले नागरिकलाई दिएको सुविधा र अवसरले पनि यसको पुष्टि गर्दछन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरमा विस्तार भएको सडकले गाउँघरका सबै कृषि उत्पादनलाई बजार पुर्याउन सघाएको दृश्यलाई उदाहरणका रुपमा लिन सकिन्छ । इलाम रोङ गाउँपालिकाको रम्भ्याङ गाउँमा पुगेको सडकले गाउँमा उत्पादित तरकारी बल्ल बजार पुग्न थालेको प्रमाणले पनि सडकको महत्व स्थापित गर्छ । मध्यपहाडी लोकमार्गकै कारण भोजपुरको टेम्केमैयुङ ४ चखेवामा ठूला होटल र रिसोर्टहरु खुल्न थालेको दृश्यले त्यहाँ थपिएका पर्यटक र स्थानीयबासीले पाएको रोजगारीको अवसरलाई पनि दर्शाइरहेको छ । यस्ता बग्रेल्ती उदाहरण हुनसक्छन्, जहाँ सडकले सिंगै जनजीवनलाई सकारात्मक मोड दिएको छ ।

सडकको आवश्यकताको व्याख्या गरिनु मान्छेले पृथ्वीको महत्वबारे प्रकाश पार्न खोज्नु जस्तै हो । सडक हरेक नागरिकको आधारभूत आवश्यकता मात्रै होइन, अधिकारसमेत हो । निर्वाध सडक सुविधा उपभोग गर्नै पाउने नागरिक हकलाई अझै कसरी फैलाउन सकिन्छ भन्नेबारे राज्य सबैभन्दा बढी सचेत रहन आवश्यक छ । तीन वटै तहका सरकारहरुले सडकको महत्व र आवश्यकतालाई ध्यानमा राखेर सोही अनुसार योजना बनाउन जरुरी छ । कोशी प्रदेशकै कुरा गर्दा पनि मुख्यमन्त्री ग्रामीण सडक आयोजनाले धेरै ग्रामीण क्षेत्रमा सडक पहुँच स्थापित गर्दैछ । मोरङको घिनाघाट–विराटचोक सडक बनेपछिको सहजता स्थानीयबासी र उपभोग गर्ने सबैको मनमष्तिष्कमा गढेको छ । यसरी तराई होस् या पहाड सडक बन्दाको उपलब्धि विराट हुने गरेको छ । यत्ति हो, प्राथमिकता निर्धारण र आवश्यकताको पहिचानमा राज्य सजग बन्ने थिति अझै पनि जरुरी छ ।

नेपालका पहाडी भूभागहरुमा सडक पुगेपछि त्यहाँको रौनक नै अर्को भएको उदाहरण धेरै छन् । नेपालका पहाडी इलाका मौसमी रुपले र प्राकृतिक छटाका कारण पनि आकर्षक छन् । त्यसैले घुम्न मन पराउनेहरुको भीड त्यस्ता क्षेत्रमा सधैं देखिनसक्छ । घुमन्तेहरुको भीड लाग्नु भनेको स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्नु हो । टेम्केमैयुङको चखेवामै पनि होमस्टे चलाउने, ठूला होटल चलाउने कल्पना केही अघिसम्म नगरे पनि हुने अवस्था थियो । तर, मध्यपहाडी लोकमार्गले यो सम्भव बनाइदिएको छ । त्यसैले सडक हरेक ठाउँका लागि वरदान सावित हुनसक्छ । त्यसका लागि नभएको ठाउँमा ट्रयाक खोल्ने, कच्चीलाई ग्राभेल गर्ने, ग्राभेल सडकलाई पक्की गर्नेतिर राज्यको ध्यान जानुपर्छ । जनताको आर्थिक समृद्धिको एउटा मुख्य स्रोत सडक नै बन्नसक्छ ।

बिहिबार, ३० चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर