विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।

‘संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९–१२–२९ गतेको सिफारिसमा संवत २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामाकरण गरेको थियो भने दुई अध्यादेशलाई कानूनको रुप दिएको थियो ।

अघिल्लो सरकारले जारी गरेको प्रदेश निजामति सेवा अध्यादेश र केहि प्रदेश ऐन संशोधन अध्यादेशलाई प्रदेशलाई स्वीकार गर्दै कानूनको रुप दिएको थियो । त्यसबाहेक प्रदेश सरकारले कुनै विधेयक प्रदेशसभामा पेश नगरेकोले बैठक बस्न सकेको थिएन ।

दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार सुरु भएर जम्मा १३ वटा बैठक मात्र बसेको थियो ।