विराटनगर । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना शेर्पाको मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का शेर्पा आरोहीको मृत्यु भएको हो ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे भनिने दा छिरि शेर्पाको मृत्यु भएको हो । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो ।

पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो । सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन प्रयोग हुने डोरी लगायतका सामग्री ओसार्ने जिम्मेवारीमा रहेकाहरु दुर्घटनामा परेका हुन् ।

यसपटक विभागले सगरमाथा आरोहणका लागि सोमबारसम्म २४ वटा आरोहण दललाई अनुमति दिइसकेको जनाएको छ । यसमा ४१ महिलासहित २४३ जना सदस्य छन् ।