विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरुले समाजलाई अपाङ्ग बनाउनबाट रोक्नु पर्ने बताएका छन् । कानुनका विद्यार्थीहरु सामााजिक इन्जिनियर भएकाले समाजप्रतिको कर्तव्य निर्वाह गर्न उनले आग्रह गरेका हुन् । मङ्गलबार विराटनगरस्थित ब्राइट भिजन ल कलेजमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुनका विद्यार्थीहरुको भूमिकाका बारेमा बताएका हुन् ।

‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौं भने हामी अपाङ्ग भएर अगाडि बढ्ने खतरा हुन्छ,’ उनले भने ‘सोसियल इन्जिनियरका रुपमा रहनुभएका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्छ ।’

नेपालमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानुनको जनशक्ति उत्पादनमा भरथेग गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले राज्यले पूरै लगानी गरेर बनाइदिएका शैक्षिक संस्थाका भौतिक संरचनाहरु दिन प्रतिदिन कमजोर बन्दै गएको बताए ।

मुख्यमन्त्री कार्कीले आफू पनि कानुनको विद्यार्थी भएको र राम्रो कानुन व्यवसायी बन्ने चाहना राखेपनि लामो समय विद्यार्थी राजनीति गर्नुपर्दा चाहना पूरा नभएको बताए । उनले अब नयाँ पुस्ताले कानुनका माध्यमबाट समाजको विकासमा योगदान गर्न सुझाव दिए ।