विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग गर्दै भएको आन्दोलनको क्रममा घाइते भइ मृत्यु भएका पदमकुमार लिम्बु (लाजेहाङ)लाई सहिद घोषणा गरिएको औपचारिक पत्र गृह मन्त्रालयले जिल्ला प्रशासन मोरङलाई पठाएको छ ।
मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले लिम्बूलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी गृहले औपचारिक रूपमा मोरङ प्रशासनलाई पठाएको हो ।
प्रशासनले परिवार तथा सरोकारवालालाई सो पत्र हस्तान्तरण भने गरिसकेको छैन । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजमका अनुसार पत्रमा सरकारको निर्णयबारे सम्बन्धितलाई जानकारी गराउने भनिएको छ । पत्रको बारेमा जानकारी आएपछि लाजेहाङको अन्तिममा संस्कारको विषयमा सङ्घर्ष समितिले निर्णय गर्ने उनले बताए । अहिले उनको शव सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमै रहेको छ ।
गृह मन्त्रालयद्वारा मोरङ जिल्ला प्रशासनमा पठाइएको पत्रमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।१२।२४ को बैठकबाट ‘कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका पदमकुमार लिम्बु, तेह्रथुमलाई शहिद घोषणा गर्ने एवं निजको परिवारलाई दश लाख रुपया आर्थिक सहायता उपलब्ध गराउने भनी निर्णय भएको ब्यहोरा तहाँको जानकारीको लागि अनुरोध छ’ उल्लेख गरिएको छ । गत चैत ५ गते विराटनगरमा कोशी नामकरणको विरुद्ध भएको प्रदर्शनका क्रममा घाइते भएका लिम्बूको ९ गते बिपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले लाजेहाङको मृत्युलगत्तै शहिद घोषणा गर्न माग गरिरहेको थियो । शहिद घोषणा नगरिरिएसम्म शव जिम्मा नलिने परिवारले जनाएको थियो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर ४२ वर्षीय लाजेहाङ २०५२ सालदेखि नै लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।


