विराटनगरको सुरक्षाका लागि यसो गरौं..

 गणेश लम्साल

विराटनगर अब पहिले र्झं औधोगिक शहर र जिल्लाको सदरमुकाममात्र रहेन । चार वर्ष अगाडि नै कोशी प्रदेशको राजधानी बनिसकेको छ । जसले गर्दा यहाँको जनधनत्व ‘दिन दुगुना रात चौगुना’ ले बढिरहेको छ । तर नगरबाट उप–महानगरहुँदै महानगर बनिसकेको विराटनगरको सुरक्षा अवस्था भने अझै केही थान पुराना सिसी टिभी र थोत्रा सिआरभी भेनकै भरमा सीमित छ ।

प्रादेशिक राजधानी बनेपछि विराटनगरमा दैनिक भिआइपीहरुको चहलपहल पनि बढेको छ । प्रदेशका प्रमुख कार्यालय र कर्मचारीहरु, मुख्यमन्त्री, मन्त्री र सांसदहरुको बसाइ, संघीय मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुको ‘मुभमेन्ट’ पनि बाक्लिएको छ । यो औधोगिक र व्यापारिक नगरी तथा शिक्षा र स्वास्थ्य सेवाका लागि प्रदेशको मुख्य हव भएकाले दैनिक हजारौं मानिसहरुको आवतजावत हुने गर्दछ । प्रहरीकाअनुसार बढी जनधनत्व र आवागमनहुने सीमा क्षेत्रसँग जोडिएको प्रदेशकै ठूलो शहर भएकोले यहाँ चोरी , लुटपाट र तस्करीका घटनाहरु पनि दैनिक भैरहन्छन् । पसल फोड्ने, घर लुट्नेदेखि साइकल र मोटरसाइकल चोरको बिगविगी नै छ ।

चोरी तथा अन्य अपराधिक घटनामा वृद्धि भएपनि सुरक्षाका लागि गतिलो व्यवस्था छैन । बाह्य सुरक्षा अनुगमनका लागि महानगरमा जम्मा ५५ वटा सिसी क्यामेरा जडान गरिएको छ । महानगरले २५ र जिल्ला प्रहरी कार्यालयले ३० वटा सिसी क्यामेरा जडान गरेको र त्यसबैबाट सुरक्षा अनुगमन गर्ने गरिएको छ ।

जडान भएका सिसी क्यामेराहरु पुराना भएकोले धेरै विग्रिरहने कारणले निगरानीमा समस्या हुने गरेको छ । मोरङ प्रहरीले निगरानी गरिरहेको ३२ मध्ये ३० वटा क्यामेरा मात्र चालु अवस्थामा रहेकोले सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण नै छ ।
राजधानी सहरको सुरक्षा व्यवस्थालाई विश्वासिलो र भरपर्दो बनाउन कम्तिमा पनि १५० थान सिसी क्यामेरा थप गर्नुपर्ने प्रहरीको राय छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले विराटनगरमा थोरैमा पनि २५० थान सिसी क्यामेरा आवश्यक पर्ने भएकोले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको बताएका छन् । अहिलेको समयानुकुल घुम्ने प्रकृतिका सिसी क्यामेरा आवश्यक पर्ने उनको भनाइ छ । सिसी क्यामेरा पर्याप्त नहुँदा घटनापछि स्थानीयबाट विभिन्न आरोपको सामना गर्नुपर्ने भएकोले महत्वपूर्ण स्थानमा क्यामेराको आवश्यकता टड्कारो देखिएको पोखरेल बताउँछन् ।

विराटनगर भारतको विहार राज्यको सिमानासँग जोडिएकोले सुरक्षाप्रति थप संवेदनशील बन्न जरुरी छ । खासगरि दोहोरो नागरिकता लिएकाहरुबाट अपराधजन्य गतिविधि बढी हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

अपराध अनुसन्धानमा अप्रत्यक्ष सहयोग गर्ने भएकोले त्यसको आवश्यकता छ । सँगसँगै घटनास्थलमा छिटोभन्दा छिटो पुग्न महानगरमा ८ वटा सिआरभी भ्यानहरु परिचालन गर्ने गरिएको छ । तर, ती गाडीहरु थोत्रा भएकोले चुस्त सेवा प्रवाहमा जटिलता पैदा गरिदिने गरेको छ । गाडी बिग्रन, समयमा स्टार्ट नहुने आदि समस्याले तत्कालै अपराध वा घटनास्थलमा पुग्न नसक्ने अवस्था अन्त्य गर्न सबै पक्षबाट सहयोग गर्न आवश्यक छ ।

विराटनगरमा, वडा प्रहरी ‘क’ र ‘ख’ तथा इलाका प्रहरी कार्यालय रानीसँग एक एक वटा भ्यान छ भने सिआरभी टोलीसँग आठ वटा भ्यानहरु छन् । भएका साधनहरुलाई चुस्त दुरुस्त राखेर प्रभावकारी सेवा दिने तर्फ प्रहरीले ध्यान दिनुपर्छ । सहरको संवेदनशीलताका आधारमा थप भ्यानहरु आवश्यक रहेकोले संघीय सरकारसँग माग गरेको एसपी पोखरेलले बताएका छन् । सरकारले माग बमोजिम सुरक्षाका लागि आवश्यक साधन स्रोतहरु तुरुन्त उपलब्ध गराए राजधानी सहरको सुरक्षा प्रबन्ध र विश्वसनीयतामा बृद्धि हुनेछ ।

मङ्गलबार, २८ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर