सामुदायिक विद्यालयको सफलता फैलाऔं

 सम्पादकीय

मिहेनत गर्न सके सामुदायिक विद्यालयलाई पनि उदाहरणीय बनाउन सकिन्छ भन्ने नमूना पेश गर्ने विद्यालय संख्या बढ्दै जानु सुखद् छ । जस्तो विराटनगरको पोखरिया माध्यमिक विद्यालयले पछिल्ला केही वर्षमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गरिरहेको छ । आम अभिभावक र विद्यार्थीको विश्वास जितेकै कारण हरेक वर्ष पोखरियामा विद्यार्थी संख्या बढिरहेको छ । यसले अरु सामुदायिक विद्यालयहरुलाई पनि प्रेरणा दिनसक्छ । कुनैबेला धुले स्कुल भनेर अपमान गरिने सामुदायिक विद्यालयहरुको लोभलाग्दो सफलता औधि खुसीको विषय हो । यस्तै विद्यालयहरुले हाम्रो सामुदायिक शिक्षाको साख जोगाउने हुन् ।

नेपालमा लामो समयदेखि सामुदायिक शिक्षाको गुणस्तरबारे चिन्ता प्रकट हुँदै आएको छ । यद्यपि जुन तहमा चिन्ता प्रकट भएको छ सुधारको पहल भने ज्यादै कम्ती मात्रै भइरहेको छ । तर, यस्तै अवस्थाका बीचमा पनि धेरै विद्यालयहरुले आफूलाई अब्बल प्रमाणित गरिरहेका छन् । यस्तोमा संघ, प्रदेश र स्थानीय सरकारले उच्च चासो दिएर सामुदायिक विद्यालय सुधारमा ठोस कदम चाल्ने हो भने पोखरियाको जस्तै परिणाम अरु धेरै विद्यालयले दिन सक्छन् । पोखरिया लगायतका विद्यालयहरुको सफलता निश्चय नै राम्रो हो । तर, त्यसैमा मखलेल भएर बस्ने छुट शिक्षा क्षेत्रलाई छैन । अरु धेरै पोखरिया स्कुल जन्माउने अभियानको खाँचो टड्कारो छ ।

अहिले नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान सुरु भएको छ । यसबेला धेरैजसो सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन मुश्किल परिरहेको छ । तर, पोखरिया माध्यमिक विद्यालयलाई भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ । निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीको भीड थेग्न पोखरियालाई सकस परेको छ । पोखरियाले निजी स्कूललाई शैक्षिक गुणस्तरमा चुनौती दिइरहेको छ । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यही सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढेको छ । यहाँ पढ्न चाहने जति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन । स्कुलप्रतिको विश्वासकै कारण ४ सय जनाको कोटामा १८ सयले आवेदन दिएका छन् । यसले सामुदायिक विद्यालयले चाहँदा सबैको विश्वास जित्न सकिने अवस्था दर्शाउँछ ।

सामुदायिक विद्यालयहरुले आफूलाई सुधार्न धेरै केही गर्नै पर्दैन । विद्यालयको व्यवस्थापन पक्ष चुस्त पार्ने, शिक्षण विधि र शैलीमा सुधार ल्याएर पठनपाठन गराउँदा विद्यार्थीको आर्कषण बढ्छ । साथै विद्यालय समयको उपयोगदेखि समयानूकुल पठनपाठनको प्रबन्ध पनि जरुरी छ । अहिले आम अभिभावक र विद्यार्थीमा अंग्रेजी माध्यमको मोह छ । विश्व बजारमा प्रतिष्पर्धी हुनलाई पनि त्यो जरुरी भइसकेको छ । यसतर्फ हरेक सामुदायिक विद्यालयले चासो दिने हो भने महँगो शुल्क तिरेर जसरी पनि निजी विद्यालय पढाउने बाध्यताबाट धेरै अभिभावक मुक्त हुने थिए । त्यसैले पोखरिया र उसले जस्तै निरन्तर सफलता पाइरहेका विद्यालयहरुबाट प्रेरणा लिँदै अरु सामुदायिक विद्यालयहरुको पनि अवस्था सुधारमा ध्यान दिइनुपर्छ ।

सोमबार, २७ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर