ललितपुर । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।

विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।

उनी नेविसंघका इकाइ उपाध्यक्ष हुन । टिकट खोसीएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए।

पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।

विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

थिङले भने जम्मा ३४६ मत ल्याए। त्यस्तै अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगर (मदन)ले ६३७ मत ल्याउँदा सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत ल्याए।

पदाधिकारीतर्फ सचिव र कोषाध्यक्ष भने अनेरास्ववियुले जितेको छ।