धरान । करिब १० वर्ष अभियन्ता बनेर दौडेका धरानका मेयर हर्क साम्पाङले गएको बैशाखमा सम्पन्न स्थानीय चुनावमा आफ्नो मुख्य एजेण्डा नै धरानको खानेपानीलाई बनाएका थिए ।

आफू मेयरमा निर्वाचित भए धरानबासीलाई काकाकूल नपार्ने उनको वाचालाई मतदाताले विश्वासको मत दिएका थिए । नभन्दै उनले धरानको खानेपानीमा छोटो समयमै देखिने परिवर्तन ल्याएका छन् । अघिल्लो वर्षको चैत र यसपटकको चैतकै तुलना गरौं । १ लाख ६६ हजार जनसंख्या भएको धरानमा दैनिक ३ करोड लिटर खानेपानी आवश्यक पर्छ । तर, धरानमा आपूर्ति हुँदै आएको खानेपानीको परिमाण दैनिक डेढ करोड लिटर मात्रै थियो ।

एकातिर आवश्यकताभन्दा आधा नै कम मात्रै आपूर्ति हुने अनि अर्कातिर ठाउँ–ठाउँमा राखिएका मोटरपम्पहरु बिग्रिरहने समस्याले धरानलाई सुख्खायाममा काकाकूल बनाउँथ्यो । धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार बोर्डले दैनिक दुई वटा ट्यांकर भाडामा लिएर नगरभरी दौडाइरहनु पथ्र्यो । त्यसो गर्दा पनि खानेपानीको आपूर्ति माग अनुसार हुन सकेको थिएन ।

हर्क साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको अर्को साता अर्थात जेठ दोस्रो हप्तादेखि सहरमा खानेपानीको स्रोत थप्ने अभियान सुरु गरे । उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरबासीलाई आह्वान गरे । कामको सुरुआत आफैले गरे । दिनभरी ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर खटिएपछि उनलाई सघाउनेहरुको ओइरो लाग्यो ।

यसरी करिब महिना दिनको श्रमदान र सहयोगी दाताहरुको आर्थिक सहयोगले पकुवाको पानी धरानसम्म आइपुग्यो । पकुवाको पानी धरानसम्म आइपुग्दा श्रमदानमा खटिने टोलीले ठूलो युद्ध जिते बराबरको खुसीयाली मनाएको थियो । पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को योजनामा खटिन थाल्यो । त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो ।

सुख्खायाममा कमिला कुद्ने यी खोलाबाट ल्याउने पानी भरपर्दो र अडिलो नहुने आवाज त्यसबेला पनि नउठेको होइन, जसरी अहिले पनि उठिरहेको छ । तर, यिनै खोलाहरुबाट थपिएको खानेपानीको स्रोतकै कारण धरानमा अहिले पानीका ट्यांकर कुदेका छैनन् । अरुबेला खानेपानीका लागि दौडादौड गर्नुपर्ने नगरबासीले अहिले सजिलोगरी पानी पाइरहेका छन् ।
‘अहिले पहिलेको जस्तो पानीको अभाव छैन’, धरान ८ की बासिन्दा मेनुका राईले भनिन् ‘पोहोरसम्म गाग्रो बोकेर ट्यांकर खोज्दै हिँड्नुपथ्र्याे । यसपालि त्यसो गर्नुपरेको छैन ।’ उनका अनुसार अहिले दिनभरी पानी नआए पनि पहिलेजस्तो मरिहत्ते गरेर पानी खोज्नुपर्ने आवश्यकता छैन ।

खानेपानी बोर्डका कार्यकारी निर्देशक पोखरेलका अनुसार मेयर साम्पाङको नेतृत्वमा सुरु भएको खानेपानीको स्रोत थप्ने अभियानले धरानमा ‘ठूलो परिवर्तन’ आएको छ । ‘हामीले खोलाहरुबाट थपेका पानीको मापन ठ्याक्कै गरेका त छैनौं’, पोखरेलले भने ‘तर, अहिले दैनिक ५० लाख लिटर पानी थपिएको छ । डेढ करोड लिटर पहिलेदेखि नै आपूर्ति हुन्थ्यो । त्यसमा ५० लाख लिटर थपिएपछि धरानमा दैनिक २ करोड लिटर खानेपानी उपलब्ध छ । यसले धेरै सहज भएको छ ।’
मेयर साम्पाङ पनि आफूले जिम्मेवारी सम्हालेयताको सबैभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत धरानमा उपलब्ध खानेपानी भएको बताउँछन् । उनले श्रम अभियानबाहेकका अरु कामलाई आफूले उपलब्धि नठान्ने बताउँदै आएका छन् । नियमित कामहरु आफै हुँदै जाने बताउँदै उनले भनेका थिए ‘अरु वर्षमा असोजदेखि नै धरानमा खानेपानीका ट्यांकर कुद्थे अहिले चैत अन्तिमसम्म पनि कुद्न परेको छैन । यो यही अभियानको परिणाम हो ।’

सुरु–सुरुमा खोलाबाट धरानसम्म ल्याइएको पानी सोझै खानेपानीका धाराहरुबाट वितरण हुने गरेको थियो । खोलाको पानी प्रशोधन बेगरै घरघरै पठाउँदा त्यसको गुणस्तरबारे चर्को आवाज उठेको थियो । त्यसपछि भने प्रशोधन गरेर मात्रै धाराहरुमा पठाउन थालिएको छ ।

‘अहिले सुरुमा खोलाबाट पानी हामीले बनाएको स्यान्डपिटमा जान्छ । त्यहाँ बालुवा, गिटी ढुंगाहरु राखेर फिल्टर हुने व्यवस्था गरिएको छ’, कार्यकारी निर्देशक पोखरेलले भने ‘फिल्टर भएको पानी त्यसपछि रिजर्भ ट्यांकमा जान्छ । त्यो रिजर्भ ट्यांकबाट मात्रै धाराहरुमा पानी पठाउने गरिएको छ ।’

खानेपानीको गुणस्तरमा कुनै कैफियत नरहेको बताउने पोखरेलले बेला–बेला यलमहरु हाल्ने गरिएको सुनाए । खानेपानीको गुणस्तर कायम गर्न गोर्खा वेलफेयर ट्रष्टले सघाएको उनको भनाइ छ ।

अघिल्लो वर्षसम्म खानेपानी हाहाकार हुनुको अर्कों मुख्य कारण पानी तान्ने मोटरहरु बिग्रिरहने र लामो समयसम्म त्यो नबन्ने समस्या थियो । मेयर साम्पाङ सुरुदेखि नै खानेपानीमा कुनै सम्झौता नहुने भन्दै वैकल्पिक मोटर राख्नुपर्ने पक्षमा थिए । ‘अहिले वैकल्पिक मोटरहरु राखिएको छ’, बोर्ड निर्देशक पोखरेलले भने ‘मोटर बिग्रियो भने तत्कालै विकल्प उपलब्ध छ । यसले पनि खानेपानी आपूर्ति लामो समय रोकिन्न ।’

त्यसो त मेयरले पकुवाबाट पानी ल्याउने योजना सुनाउँदा यो स्थायी नहुने भन्दै विरोध भएको थियो । सुख्खायामका मार्च, अप्रिल र मे महिनामा सबैभन्दा धेरै सकस हुने गरेको थियो । ‘यसपटक अहिलेसम्म सबै स्रोतहरुबाट नियमित पानी आइरहेको छ’, पोखरेलले थपे ‘अब त पानी पर्न पनि सुरु भएको छ । त्यसैले पहिले भनेजस्तो तत्कालै सुकिहाल्ने समस्या हुँदैन ।’
उनका अनुसार यसरी खोलाहरुबाट पानीको स्रोत थपिनु र अहिलेको जस्तो सहज अवस्था हुनु धरानका लागि एकदमै ठूलो उपलब्धि हो । ‘हामी अघिल्लो वर्षसम्म सुख्खायाममा धारा नै वितरण गर्दैनथियौं’, उनले भने ‘अहिले दैनिक २०–२५ जनालाई नयाँ धारा वितरण गरिरहेका छौं । माग भए अनुसार दिइरहेका छौं । यति चाँडो यस्तो अवस्था होला भन्ने कल्पना थिएन ।’ यसअघि खोलाहरुबाट पानी थप्नेबारे योजना र सोच नबनेको तर मेयर साम्पाङले योजना अघि सारेकै कारण यो सम्भव भएको उनको बुझाइ छ ।

यी सबैको सफलतापछि धरानमा कोकाहा खोलाबाट पानी ल्याउने अभियान सुरु भएको छ । मेयर साम्पाङका तर्फबाट अभियानको नेतृत्व गरिरहेका दत्तकुमार लिम्बूका अनुसार कोकाहा अभियानका लागि हालसम्म १ करोड १४ लाख नगद र ४५ लाख बराबरको पाइप सहयोग संकलन भइसकेको छ ।