विराटनगर । विराटनगर – ८ हाटखोलास्थित आरके मलको गोदाममा आगलागी भएको छ । बुधवार राति ८ बजेबाट अचानक आरके मल अगाडी बनाएको छुट्टै गोदाममा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । आगलागी भएको एक घण्टाभित्रमा नियन्त्रणमा आएको उनले बताए ।
लागेको आगो विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको उनले बताए । ‘ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आइसकेको छैन,’ डिएसपी दाहालले भने। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ।
आगलागीबाट एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको आरके मलका मेनेजर संजिब घिमिरेको दाबी छ । गोदाममा रहेको गार्मेन्टको सामान, कस्मेटिक, खाद्यान्य, लत्ताकपडाको सामान जलेर नष्ट भएको उनले बताए ।
यस्तै जुत्ता चप्पल, इलेक्ट्रिक समान, पियपद्धार्थलगायतका खाद्यवस्तुहरू जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए । ‘स्टक गरिएको खाद्यवस्तु पूर्ण रूपमा नष्ट भएको देखिएको छ,’ उनले भने, ‘अहिले भित्र जान सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान करोड बढीको क्षति भएको छ ।’

