सम्पादकीय
केही वर्ष अघिको चैत र अहिलेको चैतको यो दिनसम्मको मौसमी अवस्थामा केही फरक छ ? निश्चय नै छ । यस्तो फरक केही वर्षयता प्रष्टतः देखिँदै आएको छ । यसपटकको हिउँदमा वर्षा नै भएन । हिमाली भेगमासमेत हिउँ परेन । अन्य वर्षको दाँजोमा जाडो पनि कमै भयो । कतै गुराँस नफुलेका अनि कतै समय अगावै फुलेका खबर पनि आए । अहिले सुख्खायाम सुरु भएपछि झरी कहिलेकाँही हुँदै घरी चिसो हावा चल्ने दिउँसो टन्टलापुर घाम लाग्ने भइरहेको छ । के यो मौसमी प्रणाली नियमित र स्वाभाविक हो ? निश्चय नै होइन । हिउँदमा पटक्कै झरी नहुनु जसरी चिन्ताको विषय थियो, सुख्खायाममा पनि याम अनुकूल मौसमी गतिविधि नहुनु वातावरणीय असन्तुलनको प्रमाण हो । यसको मुख्य कारण जलवायु परिवर्तन भएको विज्ञहरुले बताउँदै आएका छन् । यद्यपि जलवायु संरक्षणमा हाम्रो चासो र चिन्ता भने देखावटी मात्रै छ । यो अर्को चिन्ताको विषय हो ।
आजभन्दा धेरै अघिदेखि नै जलवायु परिवर्तनबारे विश्वभर बहस चुलिँदै गरेका बेला नेपालमा भने यसलाई केवल बुद्धिविलासको विषय मात्रै ठानिन्थ्यो । अहिले पनि जलवायु परिवर्तन र यसको घातक असरबारे हुनुपर्ने जति बहस र छलफल भएको छैन । देखाउनै पर्ने सतर्कता पनि प्रदर्शित भएको छैन । यद्यपि जलवायु परिवर्तनले क्रमशः निम्त्याउँदै गएको विनाशबाट नेपाल अछुतो भने छैन । केही वर्ष अघिको बेमौसमी वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्याएको धनजनको क्षति होस् अथवा यसपटकको हिउँदमा हिमालमा हिउँ नपग्लेको विषय नै किन नहोस्, हाम लागि खतराका घन्टी हुन् । वैज्ञानिकहरुले हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै गएको तथ्य औँल्याइरहेका छन् । यसले भविष्यमा निम्त्याउने जोखिम र त्यसबाट जोगिने उपायबारे विश्व नै चिन्तित छ । यस्तोमा नेपाल जस्ता मुलुकले पनि उच्च चासोसहितको सतर्कता देखाउन आवश्यक छ ।
विश्वका शक्तिशाली मुलुकहरुसमेत निरुपाय बनेका बेला जलवायु परिवर्तनको असर थेग्ने सामथ्र्य नेपालसित छैन । फेरि जलवायुको अवस्था बिगार्न नेपालजस्ता देशहरुभन्दा तिनै शक्तिशाली र ठूला अर्थतन्त्र भएका मुलुक बढी जिम्मेवार छन् । जसले वार्षिक रुपमा ठूलो परिमाणमा कार्बन उत्सर्जन गरिरहेका छन् । निरन्तर विराट आकारको प्रदुषण फैलाइरहेका छन् । यस्तोमा नेपालले अन्य राष्ट्रहरुसँगै वातावरणीय प्रदुषण घटाउन ठूला देशहरुलाई दबाब दिने, आफैले सकेसम्म प्रदुषण घटाउन प्रयत्न गर्ने तथा विपद्को सामना गर्न जुनसुकै बेला तयारी अवस्थामा रहने तत्परता देखाउनुपर्छ ।
जलवायु विज्ञहरुका अनुसार पृथ्वीको औसत तापक्रम सन् २०३० भित्रै १.५ डिग्री सेल्सियस पुग्नेछ । हाम्रा निम्ति यो चिन्ताको विषय हो । यही कारण हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने क्रम बढ्दो छ, तालहरू पुरिँदै छन्, मौसमी गतिविधिमा चरम उतारचढाव आइरहेको छ । विज्ञहरुका नजर मात्रै होइन, हाम्रै दुई पुस्ताले प्रत्यक्षतः अनुभव गरेको मौसम परिवर्तनको स्थितिले पनि मौसमी फेरबदलको तीव्रतर रुप देखाइसकेको छ । कसरी मौसमी प्रणालीलाई कम घातक र जीवनोपयोगी तुल्याउन सकिन्छ भन्नेबारे बेलैमा बहस नथाल्ने हो र ‘एक्सन’ मा जान ढिलाइ गर्ने हो भने अहिलेकै जस्तो विपद् आइरहनेछ । मानवीय र अन्य क्षति हाम्रो अनिवार्य नियति बन्नेछ ।