कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नामकरणपछिको विवादलाई ‘जानाजान निम्त्याइएको तनाव’ भनेर अथ्र्याउँछन् । प्रदेशको नाम बहुपहिचानका आधारमा राख्नुपर्ने पक्षमा सुरुदेखि अहिलेसम्म वकालत गर्दै आइरहेका एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले फागुन १७ मा पनि ‘किरात, लिम्बूवान, सगरमाथा’ नाम राख्नुपर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्ताव अस्वीकृत भएपछि नेकपा एमालेका सांसद राम रानाको प्रस्तावमा उनले संशोधन हाल्दै ‘कोशीमा किरात लिम्बूवान’ थप्नुपर्ने बताएका थिए । तर, जम्मा ४ जना सांसद संख्या भएको उनको दलको प्रस्ताव फेरि पनि अस्वीकृत भयो ।
उनले फागुन १७ मा प्रदेशसभामा भनेका थिए ‘अहिले संख्याको भरमा पेलेर नाम राख्ने काम गरियो भने त्यसले असन्तोष जन्माउनेछ । असन्तोषले आन्दोलन र विद्रोह निम्त्याउनेछ ।’ नभन्दै प्रदेशमा पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने भन्दै पहिचान पक्षधरले आन्दोलन थालेका छन् । यसक्रममा एक जनाको मृत्यु भइसकेको छ । यसरी तनावग्रस्त बनेको प्रदेशलाई कसरी शान्त पार्न सकिएला ? निकास के हो ? यसबारे पूर्व मुख्यमन्त्री राईसँग हाम्रोमतले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ–
नामकरणपछि प्रदेश अशान्त बनेको छ । तपाइँ यसलाई जानाजान निम्त्याइएको तनाव भन्दै हुनुहुन्छ । के यो जानेरै निम्त्याइएको समस्या हो ?
हो, यो जानाजान निम्त्याइएको तनाव हो । यो नेतृत्वले र सांसदहरुदले जे गलत निर्णय गरे, त्यही गल्तीको परिणामस्वरुप यो स्थिति उब्जेको हो । हामीले बहुपहिचानयुक्त प्रदेशको नाम प्रस्ताव गर्दा नै भनेका थियौं, नाम बहुपहिचानको दिँदा केही बिग्रन्न । बरु त्यसले प्रदेशमा शान्ति स्थापना हुन्छ । यहाँ पहिचानसहितको संघीयताका लागि लामो संघर्ष भएको छ । धेरैले बलिदान दिएका छन् । त्यसैले बहुपहिचानयुक्त नाम राखौं, त्यसले शान्ति हुन्छ । शान्ति भयो भने जनधनको सुरक्षादेखि विकासमा पनि धेरै काम गर्न सकिन्छ भनेका थियौं । तर, नेतृत्वले यो कुरा नबुझ्दा र बुझ्न नखोज्दा यस्तो अवस्था आयो ।
पछिल्लो तनावको निकास के हुनसक्छ ?
यो तनावको निकास भनेकै अब प्रदेशलाई बहुपहिचानको नाम दिनुपर्छ । नयाँ प्रक्रियाबाट गएर, नेतृत्वले र सांसदहरुले आत्मसमीक्षा गरेर पुनःनामकरण गर्नुपर्छ । बहुपचिानयुक्त प्रदेशका रुपमा पुनः नामकरण नै यो तनाव सदाका लागि अन्त्य गर्ने एक मात्र उपाय हो ।
प्रदेशसभाको दुई तिहाईले नाम पारित गरेको छ । फेरि पहिचान जोड्दा के जोड्ने भन्ने कुरामा आन्दोलनकारी स्वयम् पनि प्रष्ट छैनन् । यस्तोमा पुनः नामकरण सम्भव छ ?
हाम्रो लक्ष्य प्रदेशको नाम मात्रै हो कि यहाँको अमनचैन, शान्ति र समृद्धि पनि हो ? यदि त्यसो हो भने पुनः नामकरणको प्रक्रिया आरम्भ गर्नुपर्छ । रह्यो कुरा पहिचान के राख्ने भन्ने, त्यसमा आन्दोलनकारीहरु मात्रै होइन सबै प्रष्ट नै छन् । यसअघि पनि आन्दोलनकारीहरुले छोटो समयमा नै नाम दिन्छौं भन्नु भएको छ । मैले पनि मुख्यमनत्री हुँदा आन्दोलनसँग सहकार्य गरेको छु। नजिकबाट चिनेको छु । अलग अलग नामको अपेक्षा गरे पनि नेतृत्वले बहुपहिचानको नाम दिन्छौं भन्ने हो भने गाह्रो छैन । प्रक्रिया सुरु गरेपछि यो सहमतिमा टुंगिन्छ ।
तपाइँ पुनः नामकरण भन्दै हुनुहुन्छ । मुख्यमन्त्री हिक्मत कार्कीको कुरा भने अब नामका बारे कुनै छलफलसम्म हुन नसक्ने भन्ने छ । कसरी होला यो ?
अहिलेको दलहरु जनभावना अनुसार चल्ने, लोकतान्त्रिक प्रक्रिया अनुसार चल्ने र आफ्नै पूर्व प्रतिबद्धता अनुसार इमान्दार बन्ने हो भने यसो गर्नैपर्छ । जनभावना अनुसार दलहरु चल्ने मान्यता र दाबी गर्ने जो कोहीले जनआवाज सुन्नुपर्छ । जुनसुकै आन्दोलनमा किन नहोस्, जनसंख्याको बहुसंख्या कहिल्यै सडकमा आउँदैन । अहिले सडकमा ओर्लेको संख्यालाई सानो ठान्ने भूल गर्नुहुँदैन । यदि त्यसो हुन्थ्यो भने हिजो राजाले र पन्चले पनि नछोडेको भए हुन्थ्यो । नेपालको जनसंख्या तीन करोड मान्ने हो भने पनि हिजो काठमाडौंमा भएका ठूला आन्दोलनमा पनि ५ लाख ७ लाख मानिस सडकमा आएका हुन्। त्यो जनसंख्याको बहुसंख्या थिएन । अहिले जति सडकमा आएका छन्, तिनको संख्या ठूलो छ । त्यो भन्दा ठूलो कुरा उनीहरुले न्यायसंगत माग गरेका हुन् । हिजो दलहरुले नै दिन्छु भनेको कुरा खोई भनेका हुन । त्यसैले हामीले यो कुरा नसुनी धरै छैन ।
तर, भोट चाहिँ पहिचान विरोधीलाई दिने, पहिचान चाहिँ हामीले दिनुपर्ने अभिव्यक्ति भन्ने कोणबाट उठेको बहसलाई कसरी हेर्नुभएको छ ?
हामीले हिजोको चुनाव प्रदेशको नाम के राख्ने भन्ने मुद्दामा मात्रै केन्द्रीत भएर लडेका हौं ? होइन । सिधा नामका विषयमा मतदान भएको होइन । पार्टीहरुका अरु काम, प्रतिबद्धता, हेरेर गरिएको मतदान हो । त्यसैले मतदान अनेक विषयले भएको छ । फेरि सांसदहरुकै कुरा गर्ने हो भने उनीहरुलाई स्वतन्त्र रुपमा मतदान गर्न दिउँ न त थाहा भइहाल्छ नि जनमत कता रहेछ भनेर । अहिले पनि प्रदेशसभामा बहुपहिचान चाहने सांसद नै धेरै छन् । तर, नेतृत्वको दबाबले जबरजस्ती, छलफलसमेत गर्न नदिई प्रदेशको नाम राखियो । एकल पहिचान त्यो पनि भूगोल मात्रै चिन्नेहरु नेतृत्वमा छन् । उनीहरुले निर्देशन गर्ने, सांसद भोट हाल्ने भयो । यदि स्वतन्त्र रुपमा भोट गर्न दिएर हेरौ त अनि थाहा हुन्छ कता गएको रहेछ जनमत भन्ने। त्यसैले यो विषयलाई यसरी बहसमा ल्याउनु हुँदैन ।
पुनः नामकरणका लागि तपाइँहरुको प्रस्ताव के हो ?
हामीले त अस्ति नै संसद्मा बहुपचिानयुक्त नाम प्रस्ताव गरेका थियौं । त्यसैलाई अघि बढाए पनि भयो । नभए सहमतिमा अर्को खोजी गरे पनि भयो । भूगोलको पहिचानमा उभिएका दलहरुले पुर्नविचार र समिक्षा गरेर नयाँ प्रक्रिया थाल्नुपर्छ । बहुपहिचानको नाम दिनुपर्छ । त्यसले कसैलाई हानी गर्दैन । तनाव साम्य भएर जान्छ । सभ्यता संस्कृति भूगोल समेटेर नयाँ नाम राख्न सकिन्छ ।
प्रदेशको नाममा के छ र नाममा पहिचान जोड्दैमा के हुन्छ र भन्ने आवाज पनि उत्तिकै छ । यसबारे के भन्नुहुन्छ ?
यही प्रश्नलाई उल्ट्याएर प्रतिप्रश्न गर्दा के हुन्छ ? नाममा केही छैन भने दिउँ न त किरात । यो तनाव नै सकिन्छ । हिजो मधेश प्रदेश भयो । यो मानिसको सेन्टिमेन्टसँग जोडिएको, सभ्यताको सम्मान र इतिहासको संरक्षणको विषयसँग जोडिएको विषय हो । अहिले हामी उहिलेका मान्छेको दाँत भेटे संरक्षण गरेर राख्छौं । पुराना नोट, ढ्ुंगाहरु, अक्षर बिनाका पैसाहरु जोगाउन लागिएको छ । मूर्तिहरु जोगाउन उत्तिकै संवेदशील छौं भने सभ्यता, संस्कृति, इतिहास र योगदानको सम्मान र संरक्षण चाहिँ गर्न नपर्ने हो ? त्यसैले नाममा पहिचान जोडिँदा सभ्यता, संस्कृति र इतिहासको सम्मान हुन्छ। त्यो नै सबैभन्दा न्यायपूर्ण कुरा हुन्छ ।
आन्दोलनकारीलाई के भन्नुहुन्छ ?
आन्दोलन संयमित र शान्तिपूर्ण हुनुपर्छ भन्नेमा कुनै शंका र दुविधा छैन । तर, आन्दोलनको कुनै अवधि र सीमा हुँदैन । आन्दोलनमा दमन भयो भने बारबन्देज भयो भने त्यसले सीमा नाघ्छ । राज्यले आवाज सुन्दैन भने पनि आन्दोलनले बारबन्देजहरु भत्काउँछ । हिजोको जनयुद्ध जनक्रान्तिको सन्दर्भमा पनि त्यही कुरा लागु भएको थियो । आज पनि त्यही हो । म आन्दोलनकारीलाई संयमित र शान्तिपूर्ण हुन अपिल गर्दछु । सरकारलाई पनि आन्दोलनलाई निषेध गर्ने काम अनुचित छ भन्न चाहन्छु । यदि कसैले कार्यालयमा आएर आक्रमण गर्न खोज्यो भने त्यसबेला बल प्रयोग गर्नुपर्छ तर, मुख्य सडकलाई निषेधित क्षेत्र घोषणा गरेर जुलुसै गर्न नदिने, सडकमा निस्कनै नदिने कुरा गलत र अनुचित छ ।

