ट्राफिक व्यवस्थापनको पक्षमा

 विनोद घिमिरे

कुनै पनि सहर कति व्यवस्थित छ भन्ने मापन गर्ने मुख्य आधार हो त्यो सहरको ट्राफिक व्यवस्थापन । विराटनगर महानगर पनि अस्तव्यस्तताका लागि चिनिएको सहरमध्येमै पर्छ । न व्यवस्थित पार्किङ, न खुला र सुरक्षित बाटो । यद्यपि यो दृश्यमा केही सातायता सुधार आएको देखिएको छ । दुई महिना अगाडिसम्म अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्र अहिले व्यवस्थित र सहज बन्दै गएको छ । महानगरपालिकाले पार्किङ व्यवस्थित बनाउँदै लगेपछि बजारको सौन्दर्यमा समेत सुधार भएको छ । यो कामको सुरुआत गर्ने महानगर र यसको नेतृत्वमा रहेका मेयर नागेश कोइराला धन्यवादका पात्र छन् । यद्यपि यही काम मात्रै पर्याप्त भने छैन । यसमा अझै व्यापाक सुधार र परिस्कारको खाँचो छ । लामो यात्राको सुरुआत पहिलो पाइलाबाट हुन्छ भन्ने मान्ने हो भने यसलाई विराटनगरको सुधारतर्फको यात्राको आरम्भ मान्न सकिन्छ ।

सडक खुला बनाउने यो अभियानमा स्थानीय व्यापारीहरुको भने असहमति रहँदै आएको छ । यो असहमति जायज छैन । सहर व्यवस्थापनको अभियानलाई प्रभावित पार्ने कुनै पनि गतिविधिका अघि महानगर नेतृत्व झुक्न वा पछि हट्न हुँदैन । बिहीबार स्थानीय व्यापारीहरुले पार्किङ व्यवस्थापन तोडेर महानगरलाई चुनौती दिने प्रयास गरेका छन् । यो सर्वथा अनुचित छ । महानगरले बजार क्षेत्रका हरेक तीन सय मिटर दुरीभित्र पर्ने गरी पार्किङको व्यवस्था गरेको छ । जस्तै मध्य बजारमा रहेको हनुमान मन्दिर परिसरमा दुई सय बाइक र २० वटा चार पाङ्ग्रे गाडी अँटाउने पार्किङको व्यवस्थापन छ । पुरानो गुद्रीमा झण्डै १ हजार बाइक र २ सय चार पाङग्रे अँटाउने पार्किङको व्यवस्था गरेको छ । पुरानो जलजला हल अगाडि चार कट्ठा क्षेत्रफलको जग्गामा फराकिलो पार्किङ छ । हिमालय रोडमै पनि दुई ठाउँमा पार्किङको प्रबन्ध छ । महेन्द्र चोकमै पनि २ ठाउँमा पार्किङको व्यवस्था छ ।

संसारीमाइस्थानदेखि दुर्गा मार्केट परिसरमा पनि पार्किङ सुविधा उपलब्ध छ । यतिमात्रै होइन, बैंक अफ काठमाडौं नजिकै, ग्रीनक्रस अस्पताल नजिकै, सेन्ट्रल मल नजिकको खुला ठाउँमा मात्रै होइन, जिल्ला प्रशासन परिसरमा पनि व्यवस्थापन गरेको महानगरले अन्यत्र पनि ठाउँको खोजी जारी राखेको छ । यति धेरै विकल्पहरु हुँदाहुँदै पनि सडकमै पार्किङ गर्न पाउनु पर्ने व्यापारीको हठ कुनै पनि कोणबाट जायज छैन । यो सहर सफा राख्ने प्रयास गर्दा फोहोरी नै रहन पाउँ भन्ने अर्घेल्याइँ हो । हिजोसम्म पसल अगाडि बाइक राख्दा घोक्र्याउन खोज्ने व्यापारीहरु अहिले बोलाई बोलाई पार्किङ गर्न उकासिरहेको देखिन्छ । उनीहरु किन यसो गरिरहेका छन् ? महानगरले गुद्री वरिपरिको क्षेत्रलाई मात्रै होइन पुष्पलाल चोक, हाटखोला, रानी, कन्चनबारी जस्ता ठाउँलाई पनि बजारकै दायरामा राख्नुपर्छ ।

स्थानीय व्यापारीहरुले व्यापारको आधारभूत सिद्धान्त नै आत्मसात गरिरहेका छैनन् । पसल अघि बाइक र गाडी रोक्न पाउँदा मात्रै ग्राहक झुम्मिने होइनन् । ग्राहकलाई लोभ्याउन गुणस्तरीय सामान र भरपर्दो मूल्य आवश्यक पर्छ । ग्राहकको विश्वास जित्नुपर्छ । गुणस्तरीय सेवा दिए ग्राहक टाढाबाट पनि धाएर पसल खोज्दै आइपुग्छन् । सर्वसाधारणलाई अहिले किनमेल गर्न वा बजार गर्न कहाँ पार्किङ गर्ने भन्ने कुनै समस्या छैन । ट्राफिक व्यवस्थापनमा महानगरले अग्रसरता देखाउँदा स्थानीय पसलेहरुमात्र होइन राजनीतिक दलका नेताहरुले पनि विभिन्न तवरले महानगरलाई दबाब दिइरहेका छन् । सडकमा पार्किङ खुला गर्न दलका नेताहरुले दबाब दिनु आपत्तिजनक छ । दलका नेताहरु व्यवस्थित र सुरक्षित विराटनगर चाहँदैनन् ? यदि चाहन्छन् भने महानगरको अभियानमा अवरोध होइन सहयोगी अवतारमा उनीहरु पेश हुनुपर्छ । साथै महानगरले पनि यस्ता दबाबलाई छिचोलेर अघि बढ्न आवश्यक छ ।

यसरी ट्राफिक व्यवस्थापन किन जरुरी थियो भन्ने थाहा पाउन केही समयअघिको भद्रगोल हेरे पुग्छ । औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायत सडकमा गाडी भरिभराउ भएपछि पैदल यात्रीका लागि थप चुनौती भइरहेको थियो । दुर्घटनाको उत्तिकै जोखिम थियो । अहिले सडक सफा, खुला र सहज आवागमनका लागि व्यवस्थित बनेको छ ।

यो अभियानलाई थप प्रभावकारी बनाउन महानगरले अवज्ञाकारीहरुलाई प्रथमतः कारवाहीको दायरामा ल्याउनुपर्छ । त्यसका लागि सवारीसाधनको दर्ता नविकरण छ कि छैन, महानगर र राज्यलाई बुझाउनु पर्ने कर नियमित बुझाएको छ कि छैन यस्ता विषयलाई समेत छानबिन गरेर मात्र नियन्त्रणमा लिएका सवारीसाधन छाड्नुपर्छ । दोस्रो, ट्राफिक व्यवस्थापनकै कारण व्यवसाय संकटमा पर्न सक्ने भन्ने व्यापारीहरुले व्यवसाय दर्ता नविकरण, घरबहाल कर, खरीद तथा बिक्री खाता अनि आयकर चुस्त दुरुस्त राखेका छन कि छैनन्, पनि खोजी गर्नुपर्छ । अर्को, सम्बन्धित व्यवसायमा काम गर्ने मजदुर कर्मचारीले न्यूनतम पारिश्रमिक, अतिरिक्त समयको मुल्य, सामाजिक सुरक्षाका कानुनी व्यवस्थाहरु लागु भएको छ कि छैन भन्ने समेत खोजी गरिनुपर्छ । राज्यका यस्ता तमाम दायित्वहरु व्यापारीलाई पालना गराउने दायित्व पनि महानगरको हो । यसका लागि ट्राफिक व्यवस्थापन अभियान सहयोगी बन्नेछ ।

शुक्रबार, १७ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर