विराटनगर । एक महिना अगाडि स्थगित भएको कोशी प्रदेशसभाको बैठकको मिति अनिश्चित बनेको छ । गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

नामको विषयलाई लिएर त्यसयता पहिचानवादी संघ संगठनहरूले तीब्र प्रदर्शन, आन्दोलन र असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यति मात्रै होइन उनीहरुले सांसद तथा मन्त्रीहरुलाई घेराउ पनि गर्दै आएका छन् । यही घेराउ हुने त्रासले बैठक बस्न नसकेको एक सांसद बताउँछन् ।

‘कति घेर कहाँ घेराउमा पर्ने हो टुंगो छैन, अनि बैठक राखेर के गर्नु ?,’ उनले भने । ति सांसदको कुरालाई सभामुख बाबुराम गौतमको कुराले पनि पुष्टि गर्छ । घुमाउरो पाराले उनले प्रदेशसभाको बैठक बस्न नसक्नुमा पहिचानवादीको आन्दोलन पनि एक कारण रहेको स्वीकार गरे ।

‘प्रदेशसभाले नामाकरणको विषय टुंगोमा पुर्याउनै पथ्र्यो । हामीले त्यो दायित्व पुरा गर्यौं । त्यही कारण एउटा समुदायले चित्त दुखाएको अवस्था छ । विरोध जनाएको अवस्था छ । त्यो विषयलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन,’ सभामुख बाबुराम गौतमले भने, ‘हामीले उहाँहरुसँग छलफल गर्ने, संवादमा ल्याउने र वार्ता र सम्वादबाटै समस्याको समाधान गर्ने प्रयास गर्नुपर्छ । त्यसकारण केही समय यही विषयलाई हेरेर पनि बैठक नराखेका हौं ।’

उनले पहिचानको आन्दोलन मत्थर भएसँगै प्रदेशसभाको बैठक राख्ने संकेत गरे । ‘तत्काल सरकारले कुनै बिजनेस नल्याएको अवस्था र आन्दोलनको विषय पनि सँगसँगै भएको हुनाले यसको पनि निकास आओस् भनेर केही समय हेर्न खोजेका हौं,’ उनले भने । सभामुख गौतमले अहिले भइरहेको आन्दोलनलाई राजनीतिक नेतृत्वले नै समाधान गर्नुपर्ने पनि बताए ।

‘प्रदेशसभामा आएको प्रस्तावमध्येबाट छलफल गरेर त्यहाँको लोकतान्त्रिक विधि प्रयोग गरेर नै कोशी पारित भएको हो । प्रदेशसभाले राजनीतिक गतिविधिलाई वार्ता गर्ने, सम्वाद गर्ने गर्दैन । त्यसको स्वभाविक दायित्व प्रदेश सरकारले लिनुपर्छ,’ गौतमले भने, ‘सरकारले केही पहल पनि गरिरहेको होला । वार्ताको लागि पनि बोलाएको होला र सरकारले यसलाई चाँडै निकास दिन्छ होला भन्ने मलाई आशा छ ।’

गत चैत ५ गतेको प्रदर्शनमा सहभागी भएका पदम लिम्बूको ज्यान समेत गइसकेको छ । मंगलबार पनि सांसदहरु सहभागी कार्यक्रमलाई घेराउ गर्न विराटनगरको होटल बिग अगाडि पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । झडपमा १९ जना घाइते भए ।

पहिचानवादीहरुको बैठकले पनि आगामी चैत २५ गतेदेखि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेका छन् । त्यसबीचको समयमा भने सांसद मन्त्रीहरुलाई घेराउन गर्ने लगायतका कार्यक्रम तय गरेको संघर्ष समितिका नेता अर्जुन जम्नेली राईले बताए ।

‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षालाई ध्यानमा राखि तालाबन्दी र ठूलो विरोध जुलुस र सभाहरू स्थगीत गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरु जारी राख्ने निर्णय भएको छ,’ उनले भने, ‘सांसद अवरोध र बहिष्कारलाई जारी राख्ने निर्णय पनि गरेका छौं ।’ समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गते पछि विराटनगर केन्द्रीत निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको पनि उनले जानकारी दिए ।

गत चैत १० मा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव भने अझै अस्पतालबाट अझै उठ्न सकेको छैन । लिम्बूको मृत्यु भएलगत्तै संघीय सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन तथा वार्ता समिति गठन गरेको थियो । छानबिन समितिका संयोजक सुवेदीका अनुसार समितिले काम थालिसकेको छ । तर, लाजेहाङको मृत्युको छानविनका लागि पोष्टमार्टम रिपोर्ट आवश्यक पर्छ । पहिचानवादीले उनको पोष्टमार्टम गर्नै नदिने अडान राखेका छन् । जसले गर्दा छानविन समितिले काम गरेर फाइनल रिपोर्ट दिन ढिलाई हुने भएको छ ।

कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनी ८ गते राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको १० गते बिहीबार राती मृत्यु भयो । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लिम्बूको टाउकोमा लाठी प्रहार भएको थियो । त्यही कारणले लिम्बूको मृत्यु भएको आन्दोलनकारीको दाबी छ ।