विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारी विराटनगरमा पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् काशीराज दाहाल सम्मानित भएका हुन् । यस्तै पत्रकार हरि अधिकारी पनि षष्टीका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भए ।
कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार वितरण गरे । त्यस अवसरमा खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । ‘नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारीमा खटिने पत्रकार समाज विकासका आधार हुन्,’ उनले भने ।पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय संचार नीति पनि लागू भएपनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न जरुरी भएको सुनाए । ‘राष्ट्रिय संचार प्राधिकरण पनि महत्वपूर्ण छ । संचार क्षेत्रमा पनि नयाँ व्यवसायिक ढंगले पनि नयाँ व्यक्तिहरू आउने क्रममा छन्,’ उनले भने, ‘कतिपय चुनौती पनि देखिन्छन् । प्रजातन्त्र नमरोस् भन्नेमा राजनीतिक दल सचेत हुनुपर्छ । पारदर्शिता भएन भने लोकतन्त्र सजीव हुन सक्तैन । बेथिति बढेको छ । जवाफदेहिता घटेको छ । निर्वाचन प्रणालीमा परिमार्जन गर्न जरुरी छ । सक्षम मानिस उठ्न नसक्ने अवस्था हँुदैछ । संसद प्रभावकारी नभएपछि सरकार बलियो हुन सक्तैन ।’ न्यायपरिषद्को संरचना पनि सुधार गरिनुपर्ने बताउँदै उनले संवैधानिक सुनुवाई पनि प्रभावकारी हुन पर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक आफैंमा महत्वपूर्ण भएको बताउँदै धेरै निकायले दुःख दिन आएको जसरी व्यवहार गर्ने गरेको बताए । उनले भने,‘सूचना दिनु धेरै कार्यबोझ भएको भन्ने ढंगले बुझ्न हुँदैन ।’ सूचना माग्ने र दिने क्रम बढ्नुपर्ने गुरुङले बताए । पछिल्ला वर्षहरूमा सूचना उपलब्ध नगराउनेलाई कारवाही गर्ने क्रम बढेको पनि बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न जरुरी भएको बताउदै समाजले सकारात्मक समाचार चाहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सरकारी कार्यालयबाट प्रवाह गरिनुपर्ने सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।

