ताप्लेजुङ । कोशी प्रदेश नामकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । जिल्लास्थित बुधबार पत्रकार सम्मेलन गर्दै जातीय संस्थाहरूले कोशीविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

पहिचानको आन्दोलनलाई छलेर षड्यन्त्रमूलक ढङ्गबाट प्रदेश १ लाई पहिचान विरोधी कोशी नामाकरण गरिएकाले आफूहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन् ।

कोशी नाम खारेजी र पहिचान स्थापनाका लागि प्रदेशभरका पहिचानवादी संस्थाहरू एकजुट भएर सशक्त आन्दोलन गर्नुको विकल्प नभएको पनि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोशी नामकरणविरुद्ध पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, कोशी नाम खारेज गर्नुपर्ने, पहिचानवादी आन्दोलनरत पक्षसँग सहमति गरेर पुनः नामकरण गर्नुपर्नेलगायतका मागहरू पनि ती संस्थाहरूले राखेका छन् ।
यस्तै, शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमन बन्द गर्नुपर्ने, प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने पनि संस्थाहरूले माग गरेका छन् ।

आफ्ना मागहरूको सुनुवाइ नगरे सबै पहिचान पक्षधर र जातीय संस्थाहरू सशक्त आन्दोलनमा होमिन बाध्य हुने पनि विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउने ताप्लेजुङका जातीय संस्थाहरूमा नेवाः देय् दबू, नेपाल तामाङ घेदुङ, नेपाल आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ, चुम्लुङ, छन् । त्यस्तै, तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्, सुनुवार सेवा समाज, नेपाल शेर्पा संघ, किराँत राई यायोक्खा, राई याक्खा छुम्मा, भुजेल सेवा समाज, तोक्पेगोला सेवा समाज, वालुङ उत्थान समाज र नेपाल मगर संघ छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण फागुन १७ गते दोस्रो कार्यकालमा कोशी नामाकरण भएको हो ।