विराटनगर । कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण मंगलबार विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो ।
विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा दुई दर्जन हाराहारी घाइते भएका छन् ।
आन्दोलनकारीले प्रहरीको घेरा तोडेर अगाडि बढेपछि झडप भएको हो । झडपमा सशस्त्र र नेपाल प्रहरी गरी १२ जना घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । यता आन्दोलनकारीतर्फ एक दर्जन बढी घाइते भएको आन्दोलनकारीमध्येका एक अर्जुन जम्मेली राईले बताए । घाइतेमध्ये केहिको विराटनगरको अस्पतालमा उपचार भइरहेको छ भने केहिलाई धरान लगिएको छ ।
आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् । आन्दोलनकारीले प्रहरीले तोकेको घेरा तोडेर बिग होटलतिर बढेपछि झडप भएको थियो । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका थिए ।
प्रहरीले स्थिति नियन्त्रण लिन २९ राउण्ड हवाइफायर र ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । जसमध्ये १७ राउण्ड हवाइफायर नेपाल प्रहरीले र १३ राउण्ड हवाइ फायर सशस्त्र प्रहरीले गरेको एसपी पोखरेलले बताए । १३ राउण्ड अश्रुग्यास नेपाल प्रहरी र ३१ राउण्ड अश्रुग्यास प्रहार सशस्त्र प्रहरीले गरेको थियो । आन्दोलनकारीको भिड रोक्न प्रदेश प्रहरी कार्यालयबाट आएको सवारी साधानबाट पानीको फोहरासमेत प्रहार गरेका थिए ।
युएनडिपीको आयोजनामा मंगलबार र बुधबारका लागि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटल नेपालइरिकामा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले घेर्न आउने सूचना आएपछि कार्यक्रम विराटनगरको होटेल बिगमा राखिएकोमा आन्दोलनकारीको समूह विराटनगरमै केन्द्रित भएको थियो ।
आन्दोलनको कारणमा प्रदेशसभाका आधाभन्दा धेरै सदस्यहरु होटलमा प्रवेश गर्न पाएका थिएनन् । कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रिहरु र सबै प्रदेशसभा सदस्य सहभागी हुने तय भएको थियो ।
पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग गर्दै आएको छ ।
आन्दोलनपछि कोणसभामा पहिचानवादी नेताहरूले कोशी प्रदेश खारेजी गरि पहिचानको आधारमा नामकरण नगरे आन्दोलनले उग्र रुप लिने चेतावनी दिए । पुनः नमकरण संघर्ष समितिका नेता डकेन्द्रसिंह थेवेले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने भन्दै प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म आन्दोलन जारी रहने बताए ।
प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै आन्दोलनकारीले त्यसलाई रोक्न खोजिए आन्दोलनको स्वरुप कडा बनाउने चेतावनी दिएका छन् । संघर्ष समितिको अर्का नेता अर्जुन जम्मेली राईले पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलन नरोकिने बताए । आन्दोलनकै क्रममा स्थानीय तहको कार्यालयहरुमा तालाबन्दी गरिएको आन्दोलनकारीले बताएका छन् ।
बिग होटलको क्याफे तोडफोड
अन्दोलनकारीले बिग होटलको क्याफे तोडफोड गरिदिएका छन् । आन्दोलनकारीले ढुंगा प्रहर गरी क्याफेको सिसा र सोफाहरू तोडफोड गरिदिएका हुन् ।
क्याफे बाहिर लगाएको १५ एमएमको सिसा आन्दोलनकारीले गरेको ढुङ्गा प्रहारबाट पूर्ण रुपमा क्षति भएको बिग होटलका म्यानेजर सञ्जय साहले जानकारी दिए । आक्रमणबाट क्याफेको सोफा र फ्रिजमा पनि असर पुग्दा ५ लाख रुपैयाँ बढीको क्षति भएको होटलको भनाई छ ।

