विराटनगर । विराटनगरको मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन् ।
होटेल बिगमा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ । सांसदहरु होटलमा प्रवेश गर्न नपाएपछि कार्यक्रम पनि स्थगित भएको छ ।
युएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेल नेपालईरिकामा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने सूचना आएपछि विराटनगरको होटेल बिगमा सारिएको कार्यक्रम पनि हुन नसकेको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको थियो । पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग गरिरहेको छ ।

