विराटनगर । साझेदार संस्थाले कार्यक्रम सञ्चालन गर्दा राखेको धरौटी फिर्ता गर्ने क्रममा घुस मागेको प्रमाण बाहिरिएपछि विराटनगर महानगरपालिकाका सामुदायिक महाशाखा प्रमुख राजेन्द्र प्रधानले पदबाट राजीनामा गरेका छन् । केही साता अगाडि प्रधानले पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

साझेदार संस्थाले नियमानुसार धरौटी रकम फिर्ता माग्दा प्रधानले ३ लाख रुपैयाँ घुस मागेको प्रमाण महानगर प्रमुख नागेश कोइरालासमक्ष पुगेपछि उनलाई तत्कालै उक्त जिम्मेवारीबाट हटाउँदै प्रमुखको सचिवालयमा सरुवा गरिएको थियो । केही दिन सचिवालयमा बसेर काम गरेका प्रधानले आफूमाथि छानविन र कारवाही हुने भयका कारण प्रशासन सेवातर्फको वित्त अधिकृतको आठौं तहको पदबाट राजीनामा गरेका हुन् ।

वित्त अधिकृत प्रधान लामो समय महानगरपालिकाको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । पछिल्लो घटनापछि भने उनले आफ्नो २५ वर्षे जागिरबाट विश्राम लिँदै राजीनामा दिए । विगत केही वर्ष सामाजिक महाशाखाको नेतृत्व गरेका उनको व्यवहारप्रति साझेदार संस्थाहरु असन्तुष्ट थिए ।

पछिल्लो घटनाको अडियो रेकर्ड नै नेतृत्वसँग पुगेपछि उनी राजीनामा गरेर सम्भावित कारबाहीबाट उम्किएका हुन् । विराटनगर महानगरका थुप्रै शाखा महाशाखाहरुमा यस प्रकारको समस्या संस्कृतिको रुपमा विकास भइरहेको थियो । त्यसलाई सुधार गर्ने प्रयत्न असफल भइरहेको बेला कोइरालाको नेतृत्वले भने आन्तरिक प्रशासन सुधार गर्दै सुशासन स्थापनामा केही सफलता प्राप्त गरेको छ ।

महानगरपालिकाले आन्तरिक प्रशासन सञ्चालनको पुरानो शैलीमा परिवर्तन गर्ने योजना कार्यान्वयनमा ल्याएपछि अस्तव्यस्त रहेको व्यवस्थापनमा सुधार आएको हो । प्रशासनिक सुधारसँगै महानगरपालिकामा सुशासनको पक्षमा सकारात्मक नतिजा दिन थालेको छ । प्रधानको राजीनामा पनि सुधारको त्यहि प्रयत्नको परिणाम भएको महानगरको दाबी छ ।
अस्तव्यस्त रहेको सार्वजनिक शिक्षा सुधारमा पनि महानगरले चासो दिन थालेको छ । विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएर निजी बिमा कम्पनीको एजेन्सी मेनेजरको रुपमा काम गर्दै आएका विराटनगर ९ स्थित एक विद्यालयका शिक्षक गणेश अधिकारीलाई मेयर कोइरालाले सचिवालयमा सरुवा गरेर ल्याएका छन् । विद्यालयमा हाजिर गरेर बिमा कम्पनीमा पूर्णकालिन काम गर्दै आएका अधिकारी केही सातादेखि दिनभर मेयरको सचिवालयमा बसेर काम गरिरहेका छन् । तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कारवाहीको प्रयत्न गर्दा पनि बिमा कम्पनीको काम नछोडेका उनलाई मेयर कोइरालाले उनीजस्तै काम नगर्ने शिक्षकहरुको विवरण संकलन गर्ने जिम्मेवारी दिएर काममा खटाएका छन् ।
महानगरको शाखा, महाशाखाको महाशाखाको नेतृत्व मात्र होइन कार्यालय सहयोगीहरुसमेत यस प्रकारको अनियमिततामा संलग्न रहने, सेवाग्राहीलाई दुःख दिने र गैरजिम्मेवार बन्ने गरेको गुनासो बढेको थियो । त्यस्तै गुनासो आएपछि घरनक्शा शाखाका एक जना श्रेणीविहीन चौथो तहको सुपरभाइजर पदका कर्मचारीलाई महानगरले वडा कार्यालयमा सरुवा गरिदिएको छ । सबै शाखामा पुग्ने सेवाग्राहीलाई सहज सेवा दिन महानगरले निर्देशन दिएको छ ।

महानगरमा बढेको भ्रष्ट प्रवृत्तिमा सुधार ल्याउन महानगरका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत बिष्णु कोइरालाले कर्मचारीहरुको व्यापक सरुवा गर्ने योजना बनाएका थिए । सबैभन्दा विवादित रहँदै आएको घरनक्शा शाखामा अधिकांश नयाँ कर्मचारी सरुवा गरेर पठाइएको छ । अहिले घरनक्शा शाखाबाट आउने गुनासोमा सुधार आएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले दावी गरे ।

दशकभन्दा लामो समयदेखि एउटै शाखामा बसेर काम गरेका कर्मचारीहरुलाई अहिले भिन्न जिम्मेवारीमा सरुवा गरिएको छ । सुरुवातमा सरुवाप्रति कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए भने कतिपयले सरुवाको पत्र बुझ्नसमेत अस्वीकार गरेका थिए । तर, महानगरको नेतृत्व आफ्नो निर्णयमा अडिग रहेपछि सबै कर्मचारीहरुले नयाँ जिम्मेवारी स्वीकार गरेर काममा खटिएका छन् ।

विराटनगर महानगरपालिकाले छोटो समयमा गरेका केही सकारात्मक कामको नतिजा सर्वसाधारणले अनुभूत गर्न थालेका छन् । यस अवधिमा महानगरको स्वास्थ्य महाशाखाले वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेर ४ हजार भन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

हरेक वर्ष राजश्व लक्ष्य भेटाउन नसकेको महानगरले चालु वर्षमा राजश्व संकलनमा पनि सुधार गर्ने संकेत देखाएको छ । राजश्वको दायरा बढाउने र दायरामा परेपनि बेवास्ता गर्दै आएका व्यावसायिहरुलाई व्यवसाय दर्ता र नवीकरण गर्न अभियान चलाएर राजश्व संकलन बढाएको राजश्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए ।

महानगरले वर्षात्मा हुने डुवानको समस्यालाई न्यूनीकरण गर्न चैतको सुरुवातबाटै सहरका नालाहरु सफाइ गर्ने कार्यलाई तीब्रता दिएको छ । बजार क्षेत्रमा हुने सवारी जामको समस्या केही समययता हटेको छ । पार्किङलाई व्यवस्थित गर्ने महानगरको निर्णय कार्यान्वयन भएसँगै सहरको सुन्दरता बढेको छ भने आवागमन सहज बनेको छ ।

महानगरको वातावरण शाखा सक्रिय भएपछि समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन चुस्त बनेको छ । केही महिनायता नगर क्षेत्रको सरसफाइमा व्यापक सुधार आएको छ । नगर प्रहरीको व्यापक परिचालन र सक्रियता बढेसँगै फुटपाथ क्लियर भएको छ र पार्किङ व्यवस्थापनमा पनि सर्वसाधारणले अनुभूत गर्नेगरि सुधार आएको छ । महानगरले बिजुलीको खम्बामा असरल्ल छोडिएको तारलाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

लामखुट्टेको प्रकोप नियन्त्रण गर्न बिषादी छर्ने कार्यलाई महानगरले निरन्तरता दिएको छ । विगतमा साउन भदौमा मात्र बिषादी छर्ने काम गर्दै आएको महानगरले यसपटक गर्मीयाम सुरुहुँदै लामखुट्टे नियन्त्रणका लागि काम थालेर जनउत्तरदायी भूमिका निर्वाह गर्ने प्रयत्न गरेको छ ।

सहरी क्षेत्रको सुन्दरता अभिवृद्धि गर्न बजार क्षेत्रमा नक्शा पास नगरी बनेका टिनका टहरा हटाउने अभियान पनि महानगरले सँगसँगै चलाएको छ । महानगरले उज्यालो विराटनगर अभियान अन्तर्गत सबै सडकलाई उज्यालो बनाउने कार्यक्रम अगाडि बढाएको छ भने सूर्तीजन्य वस्तुको प्रयोगलाई नियन्त्रण गर्ने अभियान सुरु गरी नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार रहेको सन्देश दिने तयारीमा महानगर क्रियाशील रहेको महानगर प्रमुखका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिए ।