विराटनगर । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरएको छ । बाग्मती प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ । कर्णालीमा माओवादी नेतृत्वको सरकारमा एमाले सहभागी छ ।

सूदुरपश्चिममा भने काँग्रेसको नेतृत्वमा एमाले बाहेकको सरकार छ । उता, मधेशमा जनता समाजवादीको नेतृत्वमा एमालेसहितको सरकार छ । लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वमा रहेको सरकारबाट माओवादी बाहिरिएको छ । कोशी प्रदेशमा भने एमालेको नेतृत्वमा माओवादी सरकारमा सहभागी छ । तर, किन ?

कोशी प्रदेशमा माओवादी सरकारबाट बाहिरिनु पर्ने काँग्रेसको मनसाय देखिन्छ । माओवादी भने तत्काल एमाले नेतृत्वको सरकारबाट नबाहिरिने बताइरहेको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पार्टीका प्रदेश सभापति उद्धव थापाले मुलुकमा सत्ता समीकरणको खेल सुरु भइसकेको र कोशी प्रदेश पनि त्यसबाट अछुतो रहन नसक्ने बताउँछन् । १० दलीय गठबन्धनको निर्णयको आधारमा कोशी प्रदेशमा पनि छिट्टै सरकार परिवर्तन हुने दाबी गरे । कोशी प्रदेश काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेस सरकारमा जान आवश्यक रहेको बताउँछन् ।

यद्यपि माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने तत्काल एमाले नेतृत्वको सरकारबाट माओवादी नबाहिरिने बताउँछन् । ‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ आङ्बोको तर्क छ, ‘अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरु फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौं ।’
उनी कोशी प्रदेशको अवस्था विशिष्ट रहेको दाबी पनि गर्छन् । एमाले नेता हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको उनको तर्क छ ।नेपाली काँग्रेस कोशी प्रदेशसभाका शीर्ष नेताहरुले केही दिन अगाडि काठमाडौंमा सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग भेट गरेका थिए । उनीहरुले सो भेटमा नयाँ सरकार बनाउने तरिका र टिकाउने उपायाको खोजी गरेका थिए । काँग्रेस संसदीय दलका नेता उबद्ध थापा, दलका उपनेता हिमाल कार्कीको नेतृत्वको टोलीले काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेतासँग भेट गरेको थियो । भेटका क्रममा कोशी प्रदेश सरकार निर्माणका विषयमा जानकारी गराएको दलका काँग्रेस दलका नेता उबद्ध थापाले बताए । ‘हामीले प्रदेशको अवस्था यस्तो यस्तो छ के गरौं, भन्ने विषयमा सामान्य छलफल गर्यौं,’ उनले भने ।

भित्री रुपमा भने काँग्रेस र माओवादीले नै राप्रपालाई पनि सरकारमा सहभागी गराउने र आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका छन् । कोशी प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाएर गत पुस २५ मा मुख्यमन्त्री बनेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । अहिलेको सरकारलाई समर्थन फिर्ता लिँदा अस्थिरताको दोष लाग्ने, मुख्यमन्त्री हात नलाग्ने, मन्त्री पदहरु धेरै बाँड्नुपर्ने परिस्थिति भन्दा एमालेसँग मिलेर अझै सम्मानजनक स्थितिमा आफूलाई उभ्याउने माओवादीको अर्को दाउ पनि देखिन्छ ।

यद्यपि राप्रपाले आफू नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने काँग्रेस, माओवादी, राप्रपा, नेकपा एस र जसपाको गरी ५३ सांसदको समर्थन प्राप्त हुन्छ । जुन प्रदेश सरकार गठनका लागि सहज बहुमत हो । त्यसका लागि राप्रपालाई फकाउन नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला आफैं लागिरहेको स्रोत बताउँछ । कोइरालाले केही दिन अगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेर कोशी प्रदेश सरकार निर्माणको विषयमा छलफल गरेको स्रोतको दाबी छ । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक शक्तिकै नेतृत्वमा प्रदेशमा सरकार निर्माण भए आफ्नो पार्टी सहभागी हुनसक्ने बताएका थिए । यद्यपि उनले हालका काँग्रेस संसदीय दलका नेता उद्धब थापाको नेतृत्वलाई भने अस्वीकार गर्ने बताएको कोइराला पक्षका नेताहरु बताउँछन् । त्यसका लागि काँग्रेसले दोस्रो व्यक्तिको नेतृत्वमा सरकार गठनको कसरत गर्नुपर्ने उनको भनाइ छ ।