विराटनगर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरिएको छ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि यसअघि गण्डकी सरकारबाट माओवादी बाहिरिएको थियो भने बाग्मती सरकारबाट एमाले बाहिरिएको थियो । आज लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिइसकेको जानकारी दिए । पार्टीले सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने जनाएको छ ।
माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन् । किनकि ३ सांसद रहेको जनमत पार्टी पनि आजै सरकारबाट बाहिरिएकोले ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
लुम्बिनीमा माओवादीबाट आर्थिकमामिला मन्त्री जोखबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री ईन्द्रजीत थारू सरकारमा थिए । यस्तै कृष्णा केशी विनाविभागीय मन्त्री थिइन् ।
माओवादीबाट मन्त्री रहेका महरा, थारु र केसीले मुख्यमन्त्री गिरिलाई राजिनामा बुझाइसकेका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।
गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई माघ ५ गते ५८ जना सांसदले विश्वासको मत दिएका थिए ।
लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादीको ३, लोकतान्त्रिक समाजवादीको ३, जनमत पार्टीको ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन्।
लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेकोमा बहुमतको लागि ४४ जनाको समर्थन आवश्यक पर्नेछ ।

