विराटनगर । कोशी प्रदेश अन्तरगत स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुका लागि नेकपा माओवादी केन्द्रले दुईदिने कार्यशाला आयोजना गरी फरक विषयमा प्रशिक्षण दिएको छ ।
राजनीतिक प्रशिक्षणमा जोड दिँदै आएको नेकपा माओवादी केन्द्रले यस पटक प्रदेश पार्टी कमिटीको आयोजनामा बजेट निर्माण र त्यसमा ध्यान दिनुपर्ने विषय, सुशासन स्थापना र संघीय प्रणालीको प्रभावकारिता विषयमा आफ्ना जनप्रतिनिधिहरुलाई भेला प्रशिक्षण दिएको हो ।
कार्यशालामा पार्टीको नेता तथा जनप्रतिनिधिहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका थिए भने विषय विज्ञहरु प्रशिक्षकको रुपमा उपस्थित थिए । नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली र अर्थविद् हरि रोकाले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए ।
पार्टी निर्माणलाई नयाँ ढंगले अगाडि बढाउने र पार्टीका तर्फबाट जनप्रतिनिधि बनेकाहरुले सरकार र सदनमा खेल्नु पर्ने भूमिकालाई सशक्त र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको कार्यशाला प्रभावकारी भएको प्रदेश कमिटीका सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको स्थानीय पालिका, वडा र प्रदेश तथा संघीय सरकारका मन्त्रालयहरुलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्ने, बजेट निर्माण गर्दा जनजीविकाका कस्ता विषयलाई कुन रुपमा सम्बोधन गर्ने भन्ने जस्ता विषयमा अर्थविद् हरि रोकाले जानकारी गराएका थिए । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको तीनै तहको सरकार र मन्त्रालयहरुसमेत फरक शैलीबाट सञ्चालन गर्न आवश्यक रहेको भन्दै स्वास्थ्य र शिक्षालाई विशेष जोड दिएर प्रभावकारी कार्यक्रम तर्जुमा गर्नु पर्ने बताए । उनले त्यसका आधार र स्वरुपको बारेमा पनि जानकारी दिएका थिए । सरकारले रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन बढाउने तर्फ विशेष योजना अघि बढाउनुको विकल्प नभएको भन्दै त्यसका विभिन्न विकल्पहरुको विषयमा जानकारी गराएका थिए ।
पूर्वमुख्य सचिव पौडेलले हरेक तहको सरकारमा सुशासन आवश्यक रहेको भन्दै त्यसका लागि माओवादी केन्द्रले नेतृत्व गरेका सरकारहरु उदाहरण बन्नुपर्ने बताए । उनले सुशासनको विषय कम्युनिष्ट र पश्चिमा प्रजातन्त्रवादीहरुका बीचमा निकै फरक हुने बताए । उनले कम्युनिष्ट नेतृत्वले विभेद र गरिबी अन्त्य गरेर सुशासन निर्माण गर्नुपर्ने बताए । भ्रष्टाचार विरुद्ध कम्युनिष्ट कार्यकर्ताहरु सशक्त ढंगले उभिँदै विभेद, उत्पीडन र गरिबी अन्त्य गर्ने योजना र कार्यक्रम निर्माण गरी सशक्त कार्यान्वयन मार्फत सुशासन स्थापना गर्नुपर्ने बताए । त्यसका लागि गर्नुपर्ने काम र बनाउनु पर्ने योजनाहरुको बारेमा पनि जउनले जानकारी दिए ।
डा. चन्द्रकान्त ज्ञवालीले संघीयताको आवश्यकता, अहिले भइरहेको प्रयोग र आगामी कार्ययोजनाको बारेमा प्रशिक्षण दिएका थिए । उनले नेपालमा संघीयताको वास्तविक प्रयोग नभएको, संघीयताको वर्तमान स्वरुपको प्रयोग गर्नसमेत राजनीतिक दल र यहाँको कर्मचारीतन्त्र हिच्किचाइरहेको बताए । उनले नेपाल जस्तो असन्तुलित विकासको चपेटामा परेको मुलुकको विकास गर्न वास्तविक संघीयताको प्रयोग गर्नुपर्ने बताए । त्यसका लागि अहिलेको संघीयताको मोडलले उचित प्रतिफल दिन नसक्ने भन्दै संविधान संशोधन गर्नुपर्ने भन्दै त्यसलाई राजनीतिक मुद्दा बनाउन आवश्यक रहेको डा. ज्ञवालीले बताए । नाम मात्रको संघीयताले जनताको आकांक्षा पूरा गर्न नसक्ने भएकोले वास्तविक संघीयता स्थापना गरी सशक्त ढंगले काम गर्नुपर्ने विषयमा जानकारी गराए ।
नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिएलगतै हरेक जिल्लाका पार्टी कार्यकर्ताहरुलाई यस विषयमा प्रशिक्षण दिने तयारी गरेको छ । त्यसका लागि हरेक जिल्लामा प्रशिक्षकहरु तयार पार्ने तथा वडा र सेल कमिटीसम्मका कार्यकर्ताहरुलाई कार्यशालामा सहभागी गराएर यस विषयमा प्रशिक्षण दिने तयारी गरेको छ । दोश्रो चरणमा यहि चैत १४ गतेदेखि १६ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लामा प्रशिक्षक तयार पार्न प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको प्रदेश कमिटीका सचिव उप्रेतीले जानकारी दिए । उनकाअनुसार हिमाली जिल्लाबाट चार जना, पहाडी जिल्लाबाट पाँच जना र तराईका जिल्लाबाट ६ जनाको दरले प्रशिक्षक तयार गर्ने पार्टीको योजना छ । ती प्रशिक्षकहरुले जिल्लाका सबै पालिकामा प्रशिक्षक तयार गरी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछन् ।

