विराटनगर । कोशी प्रदेशमा केन्द्रमा भएको गठबन्धन अनुसार नयाँ सरकार निर्माण गर्न र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न भन्दै काँग्रेसका नेताहरु काठमाडौंमा पुगेका छन् ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नेताहरुले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर प्रदेशको सरकार परिवर्तन गरि प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।

कोशी प्रदेशमा अहिले नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । संघीय सरकारमा सहभागी हुने तयारीमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी प्रदेशमा विपक्षमा रहेको बेला काँग्रेस नेताहरुले नयाँ सरकार गठनको लागि दौडधुप थालेका हुन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर उनले नयाँ सरकार गठनको पहल गरिदिन आग्रह गरेका हुन् । केन्द्रको गठबन्धन अनुसार प्रदेशमा सरकार बनाउन र मध्यावधिमा जानबाट रोक्ने पहल गर्न नेताहरुलाई आग्रह गरेको काँग्रेस संसदीय दलका नेता थापाले बताए ।

‘प्रदेशमा केन्द्रको गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने पक्षमा हामी छौं’ उनले भने, ‘तर, दुबै पक्षले बहुमत पाउने अवस्था नभएकोले विकल्प निकाल्नुहोस् भनेर नेताहरुलाई भनेका हौं ।’ शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई भेटेका उनीहरुले मध्यावधि निर्वाचन रोक्नका लागि दलहरु मिलेर जानुको बिकल्प नभएको धारणा राखेका थिए ।

‘दलहरु मिलेर जानुको बिकल्प छैन,’ काँग्रेस नेता थापाले भने, ‘साथीहरु मन्त्री, मुख्यमन्त्री भन्दै हुनुहुन्छ, प्रदेश मध्यावधिमा जाने अवस्था छ ।’ ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर, प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन् । सत्तारुढ गठबन्धनमा रहेका बाबुराम गौतम सभामुख भएकोले उनले सरकारले विश्वासको मत पाउने प्रक्रियामा बराबरी भए मात्र मतदान गर्न पाउँछन् ।

प्रदेशसभामा ४० सांसद भएको एमाले र ६ सांसद रहेको राप्रपा एक ठाउँमा छन् । २९ सांसद रहेको कांग्रेस, १३ सांसद (सभामुखसहित) रहेको माओवादी केन्द्र, ४ सांसद रहेको एकीकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपाको संघबाट गठबन्धन बनेको छ ।

भेटघाटमा दलका नेताहरुले छलफल गरेर निकास निकाल्ने आश्वासन दिएका छन् । सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरु रहेको नेताहरुले बताएका छन् ।