काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) को समर्थनमा २५ पुसमा बागमती प्रदेशको चौंथो मुख्यमन्त्री बनेका उनले दोस्रो पटक प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले गत ३ माघमा विश्वासको मत पाएका थिए ।
केन्द्र सरकारमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदाँ प्रदेश सरकारमा पनि राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागका हुन् । १३ फागुनमा राप्रपाले समर्थन फिर्ता लिएको थियो ।
यसैबीच, प्रदेश सरकारमा रहेको एमालेले विश्वासको मत दिने कि नदिने या प्रदेश सरकार छोड्दै सरकारलाई दिएको समर्थन लिने बारे निर्णय गर्न आजै बैठक बस्ने तयारी गरेको छ । ।
यता, प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिने कि नदिने बारे निर्णय गर्ने तयारी गरेको छ ।
तत्कालीन प्रदेश सरकारको गठनको क्रममा एमालेको समर्थनमा ७० प्रदेश सदस्यसहित नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ प्रदेश सदस्य गरी ७० जना प्रदेश सदस्यको समर्थन गरेका थिए ।
११० प्रदेश सभा सदस्सीय रहेको प्रदेश सभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ ।

